अभिनेता प्रदीप खड्काको नयाँ फिल्म ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकनले पनि अभिनय गर्ने भएका छन् । लोकप्रिय अंग्रेजी अनलाइन डेडलाइनले फिल्ममा जेमी अनुबन्धित भएको उल्लेख गरेको छ । उनी आफैंले पनि यो समाचारको ‘स्क्रिनसट’ आफ्नो इन्स्टाग्राममा पोस्ट्याएका छन् । उनी नेटफ्ल्क्सि सिरिज ‘व्हाइट लाइन्स’ र फिल्म ‘ब्राइटन’मा गरेको अभिनयका कारण चिनिन्छन् ।
जेमी स्क्रिप्ट राइटर समेत हुन् । ‘इनटू द मिरर’ र ‘द फिस इज मी’ गरी दुई फिल्मको स्क्रिप्ट लेखेका उनले ‘द होर्डर’, बीबीसी ड्रामा ‘फादर ब्राउन’मा पनि अभिनय गरेका छन् । ‘एक्लो’का निर्देशक प्रदीप शाहीले फिल्ममा जेमीको अभिनय रहने जानकारी गराउन पाउँदा गर्व महसुस भएको जनाएका छन् । ‘फिल्ममा उनको प्रतिभा र उपस्थिति पाउनु हामी भाग्यशाली छौं,’ उनले भनेका छन् ।
यो फिल्मले सन् २०३० सम्म एक घातक भाइरल महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा भन्नेछ । त्यसको ६० वर्षपछि ब्रिटिस अन्तरिक्ष यात्री (बेकन) आफ्नो टोलीसहित हिमालय क्षेत्रमा ल्यान्डिङ गर्छन् । र, पहाडहरुबीचको एक गुफामा लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरुले रहस्यमय व्यक्ति (प्रदीप) सँग भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।
फिल्ममा प्रदीप र जेमीसहित बेनिशा हमाल, सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि अभिनय रहनेछ । सन् २०२५ मा रिलिजको लक्ष्य राखिएको फिल्मका कार्यकारी निर्माता क्षितिज सुवेदी खत्री हुन् । फिल्मका लागि यतिबेला नेपालमै पहिलोपटक अन्तरिक्ष ‘रकेट सुट’को निर्माण भइरहेको छ । सम्भवतः आगामी साउनपछि छायांकन सुरु हुनेछ ।