चकलेटी अभिनेताको रुपमा चिनिएका पल शाह प्रायः फिल्ममा सुकिलोमुकिलो पात्र र हिरोइनको वरिपरि घुम्ने चरित्रमा देखिन्छन् । यसैले उनको छवि लभर ब्वाईको रुपमा बनेको छ । चरित्रमा विविधता पस्किन नसकेको आरोप खेपिरहेका उनलाई फिल्म ‘पूजार सार्की’ले भने नयाँ पहिचान दिलाउन सक्ने देखिन्छ । किनकि, यसमा उनले करिअरमै पहिलोपटक भिन्न चरित्र निर्वाह गरेका छन् ।
फिल्ममा उनको जातीय विभेदविरुद्ध संघर्ष गर्ने चरित्र छ । यसअघि सार्वजनिक भैसकेका टिजर र ट्रेलर हेर्दा उनको चरित्र विद्रोही स्वभावको देखिन्छ । बन्दुक भरेका उनको लुक्स र गेटअप ९० दशकको छ । उनको लुक्सले फिल्मप्रति दर्शकको चासो र पखाई बढाइरहेको अवस्थामा मंगलबार सार्वजनिक दुईवटा तस्वीरले ‘सरप्राइज’ बनाउन सक्छ । उक्त तस्वीरमा उनी वृद्ध लुक्समा छन् ।
पलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा उनको कपाल र दाह्री सेतै फुलेको छ । आँखामा चश्मा छ । शिरमा ढाका टोपी र स्टकोट लगाएका उनलाई प्रहरीहरुले समातेका छन् । र, प्रहरीसँग उनको ठेलमठेल चलिरहेको छ । यो कुनै आन्दोलनको दृश्य देखिन्छ । टिजर र ट्रेलरमा युवा अवस्था देखिएका उनलाई फिल्ममा वृद्ध अवस्थामा पनि देख्न सकिने यी तस्वीरले बुझाउँछ ।
पलले प्रहरीसँग मुठभेडको तस्वीर सेअर गर्दै लेखेका छन्, ‘मेरो करिअरमा महत्त्वपूर्ण फिल्म ‘पूजार सार्की’ सावित हुनेमा ढुक्क छु । आज मैले फिल्ममा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु । यसबाट तपाईँहरुले फिल्ममा मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउनु हुन्छ । यसअघि पनि मेरो चरित्रचित्रण हुने तस्वीरलाई लिएर देखाउनुभएको प्रेम अतुलनीय छ ।’
यही बिहीबार (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा पलका साथै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा छन् । दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘पूजार सार्की’लाई संगीतकार सुभाष भुसालले निर्माण गरेका हुन् । सोमबारबाट फिल्मको मल्टीप्लेक्सहरुमा एड्भान्स बुकिङ समेत खुलिसकेको छ ।