थोरै तर लामो आयुको फिल्म दिने निर्देशकको रुपमा चिनिन्छन्, नवीन सुब्बा । उनले निर्देशन गरेको फिल्म ‘नुमाफुङ’लाई नेपाली फिल्मको एक गर्विलो दस्तावेज मानिन्छ । ‘खाङ्ग्री : द माउन्टेन’मार्फत नेपाली फिल्मलाई पहिलोपटक अन्तर्राष्ट्रिय फेस्टिभलमा पुर्याउने श्रेय पनि नवीनलाई नै जान्छ । तर, उनको एउटा फिल्मका लागि ‘जुग’ कुर्नुपर्छ । उस्तै परे एक दशकमा एउटा आउँछ ।
पछिल्लोपटक सुब्बाले बनाएको फिल्म ‘गुडबाई काठमाडौं’ थियो । तर, यो फिल्म नेपालका हलमा प्रदर्शन नै भएको छैन । यद्यपि, विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थियो । करिब २४ वर्षपछि उनको नयाँ फिल्म हलमा लाग्दैछ । त्यो फिल्म हो, ‘गाउँ आएको बाटो ।’ यही जेठ २५ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मले करिब २० वटा अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिता जनाइसकेको छ ।
पछिल्लो समय फेस्टिभल चहार्ने फिल्म बुझ्न गाह्रो हुन्छ भन्ने भाष्य बनेको देखिन्छ । तर, ‘गाउँ आएको बाटो’ सरल रहेको निर्देशक सुब्बा दाबी गर्छन् । उनी भन्छन्, ‘एकदमै सरल कथा छ । बाबुले सन्तानप्रति गरेको योगदानको कथा हो । रमाइलो फिल्म बनेको छ । धेरैलाई फेस्टिभलमा जाने फिल्म गम्भीर हुन्छ, बुझ्न कठीन हुन्छ भन्ने लाग्छ । तर, फिल्म त्यस्तो छैन । अत्यन्त साधारण छ ।’
मुम्बईमा प्रदर्शन हुँदा भारतीय दर्शकहरुले समेत फिल्म रमाइलो मानेको उनले स्मरण गरे । ‘फिल्मको मुम्बईमा प्रदर्शन हुँदा त्यहाँ दर्शकहरुले सिठ्ठी फुकेर रमाइलो मानेका थिए । त्यसैले संसारभरका दर्शकलाई ‘कनेक्ट’ गर्छ भने हामीलाई पनि सजिलै ‘कनेक्ट’ हुन्छ । त्यो विश्वास छ । नेपाली फिल्म ‘ग्लोबल’ अडियन्ससँग जोडिनुपर्छ र त्यसको एउटा कडी यो फिल्म हो,’ उनले भनेका छन् ।
उनलाई नेपाली फिल्म इन्डस्ट्री बचाउनका लागि ‘ग्लोबल’ अडियन्समा जार्नैपर्छ भन्ने लाग्छ । ‘हाम्रो इन्डस्ट्री बचाउने हो भने ग्लोबल अडियन्स र नेपालको अडियन्सलाई जोड्नुपर्छ । हामी ग्लोबल अडियन्समा जान जरुरी छ,’ उनी थप्छन्, ‘हामीले कोरियन, टर्किस फिल्महरु मज्जाले हेरिरहेका छौं । हाम्रो फिल्म चाहिँ विश्व बजारमा किन नजाने ? इन्डस्ट्री बचाउने हो भने ‘ग्लोबली’ त जानैपर्छ ।’
घरेलु दर्शकलाई लक्षित गरेर बनेका फिल्म पनि ‘ग्लोबली’ जानुपर्छ भन्ने सुब्बालाई लाग्छ । बलिउड निर्देशक करण जोहरले आफ्नो फिल्म ‘रकी और रानी’ लिएर फेस्टिभल पुगेको स्मरण गर्दै उनले भने, ‘करण जोहर जान्छन् भने हाम्रा रामबाबु गुरुङ, दीपकराज गिरी, प्रदीप भट्टराईहरु किन नजाने ? तर, बलिउड र मद्रासी जस्तो फिल्म बनाएर हामी त्यहाँ जानेवाला छैनौं । त्यो सम्भव छैन ।’
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजान पहिला आफ्नो मौलिकता निर्माण गर्नुपर्छ भन्ने उनको तर्क छ । अहिले मौलिकताको खोजी भइरहेको भए पनि त्यतिले नपुग्ने उनको धारणा छ । ‘अब हामीले हाम्रो मौलिकता निर्माण गर्नुपर्छ । जसरी कोरियनहरुले गरे । हाम्रो शक्ति के हो पहिला त्यो पहिल्याउनुपर्छ । त्यसका लागि फिल्ममा हरेक समुदायको कथा आउन जरुरी छ,’ सुब्बा भन्छन् ।