अक्सर फिल्म प्रदर्शनको संघारमा प्रिमियर गरिन्छ । यसको उद्देश्य भनेको तारिफ सुन्नु हो । र, फिल्मकर्मीहरु पनि यति इमानदार छन् कि हलमा निदाएर उठेको भए पनि मिडियाको अगाडि फुलबुट्टा भरिदिन्छन् । आजसम्म कुनै यस्तो प्रिमियर छैन, जहाँ कमी-कमजोरी औंल्याउने प्रयास गरिएको होस् । त्यसैले आजकाल प्रिमियरमा मिल्ने प्रतिक्रियालाई दर्शकले विश्वास गर्नै छाडेका छन् ।
भोलि बिहीबार अर्थात् बुद्ध जयन्तीको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूजार सार्की’ले भने फरक अभ्यास गरेको छ । यो फिल्मको टिम पनि प्रिमियरकै योजनामा थियो । तर, यसको कुनै औचित्य नदेखेपछि सर्भे गरेर दर्शकहरुलाई फिल्म देखाइएको छ । काठमाडौंका विभिन्न स्थानमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट छानिएका सयजना दर्शकलाई फिल्म देखाइएको हो ।
मङ्गलवार साँझ काठमाडौंको सिडिसी सिनेमा हलमा गरिएको विशेष शोमा सर्भेबाट छानिएका दर्शकसहित निर्देशक दिनेश राउत, कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, निर्माता सुभाष भुसाल लगायतको पनि उपस्थिति रहेको थियो । फिल्म हेरेका दर्शकले सानदार प्रतिक्रिया दिएका छन् । उनीहरुले फिल्मले उठाएको विषय, कलाकारहरुको अभिनय र निर्देशकीय पक्षको प्रशंसा गरे ।
यसरी रिलिज नहुँदै फिल्म देखाइनुको उद्देश्य दर्शकको दृष्टिकोणबारे बुझ्न, फिल्मबारे दर्शकले बुझेको कुरा थाहा पाउन, दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरुलाई मनन गरेर दर्शकको चाहनाअनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए । दर्शकहरुको प्रतिक्रियाले उत्साह र हौसला थपिएको उनको भनाई छ । फिल्मले जातीय विभेदविरुद्ध संघर्ष गर्ने तीन पात्रको कथा उठाएको छ ।
फिल्मको मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ । उच्च शोज पाएको फिल्मको बुकिङ ट्रेन्ड राम्रो देखिन्छ । केही हलका शोज ‘सोल्डआउट’ भइसकेका छन् । अब फिल्मलाई ‘वर्ड अफ माउथ’ कस्तो प्राप्त हुन्छ, त्यो महत्त्वपूर्ण रहनेछ । फिल्ममा तीन स्टार अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेकाले त्यसको प्रभाव व्यापारमा पर्नसक्ने आँकलन छ ।