गीतमा ‘हिट मेशिन’ मानिएका प्रकाश सपूतको परिचयको दायरा फराकिलो बनेको छ । गायनमा स्थापित उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’बाट अभिनेताको पनि परिचय बनाए । पहिलो फिल्म नै व्यावसायिक रुपमा सफल हुँदा उनलाई आगामी यात्रा थप सहज भएको छ । र, उनी मेकरहरुको रोजाईमा पर्न थालेका छन् । अहिले फिल्ममा उनको माग चर्किँदो देखिएको छ ।
यस वर्ष उनको व्यस्तता गीतभन्दा फिल्ममा बढी हुनेछ । किनकि, उनको ‘लाइनअप’मा तीनवटा फिल्म छन् । उनले गत बैशाखमा सरोज पौडेलको निर्देशन रहने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सम्झौता गरेका थिए । यही जेठ अन्तिमबाट फिल्मको छायांकन सुरु हुँदैछ । यसपछि प्रकाशले आफ्नै निर्माण तथा निर्देशनमा फिल्म ‘बसन्त’ बनाउँदैछन् । यसमा उनी स्वयंको मुख्य भूमिका रहनेछ ।
यी दुईटा फिल्म भ्याएपछि उनले अर्को फिल्म ‘बा मेरा बा’मा काम गर्नेछन् । चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दा कलाकारमा प्रकाशको नाम राखिएको छ । बाबु-छोराको सम्बन्धको कथामा बन्न लागेको फिल्ममा गायक देबेन्द्र बब्लुको पनि अभिनय रहनेछ । समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको यस फिल्ममा प्रकाशको बुबाको भूमिकामा पुराना अभिनेता गणेश उप्रेती देखिने चर्चा छ ।
यसरी हेर्दा प्रकाश फिल्म अभिनयलाई निरन्तरता दिने योजनामा देखिन्छन् । त्यसो त उनको बाल्यकालदेखिको इच्छा नै फिल्मको हिरो बन्ने थियो । गायनमा मिलेको सफलताले फिल्ममा प्रवेश गर्न उनलाई संघर्ष नै गर्नुपरेन । तर, गायकहरुको फिल्म यात्रा सुखद् देखिएको छैन । यसैले प्रकाशको करिअर कस्तो रहन्छ भन्ने चासो धेरैमा छ । यसको निर्धारण उनले छनोट गर्ने फिल्मले नै गर्नेछ ।