पहिलो फिल्म ‘ड्रिम्स’बाटै ‘स्टार’ कहलिएकी थिइन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको करिअर झनै उत्कर्षमा पुर्यायो । तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पनि सफल भएपछि उनी ‘डिमान्डेड’ बनिन् । त्यसबेला उनले चलेका हिरोबराबर पारिश्रमिक बुझ्ने गरेकी थिइन् । तर, श्रृंखलाबद्ध विवाद र फिल्म छनोटमा चुक्दा उनको स्टारडम नै खस्कियो ।
गएको ५ वर्षमा फ्लपमा ‘डबल ह्याट्रिक’ गरेकी साम्राज्ञीलाई गत वर्ष प्रदर्शन भएको फिल्म ‘नाङ्गो गाउँ’ले केही हदसम्म राहत दियो । तर, यसको सफलताको श्रेय उनले भन्दा दयाहाङ राई र मिरुना मगरले पाए । अब उनलाई ठूलो आशा भनेको फिल्म ‘लण्डन टू पेरिस’लाई लिएर छ । किनकि, यो फिल्म उनकै काँधमा छ । र, फिल्मले सफलता पाउँदा त्यसको फाइदा उनलाई नै बढी हुनेछ ।
साम्राज्ञीका लागि ‘लण्डन टू पेरिस’ चल्नैपर्ने देखिन्छ । उनलाई एकातिर आफ्नो गुम्दो स्टारडम बचाउनुपर्ने चुनौती छ भने अर्कोतिर असफलताको श्रृंखला रोक्नुपर्ने दबाब पनि छ । यसैले उनको करिअरकै लागि यो फिल्मको नतिजा अर्थपूर्ण रहनेछ । यही फिल्मले उनको आगामी यात्रा तय गर्ने विश्लेषण भैरहेको छ । यो फिल्म सफल भएको खण्डमा उनको दबदबा फेरि बढ्नेमा दुईमत छैन ।
यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा साम्राज्ञीको जोडी डेब्यु अभिनेता निश्चल खड्कासँग बाँधिएको छ । यसअघि सार्वजनिक टिजरमा उनीहरुको केमेस्ट्रीलाई दर्शकले रुचाएको देखिन्छ । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्मबाट चर्चित मोडल गरिमा शर्माले समेत डेब्यु गरेकी छन् । उनका लागि पनि यो फिल्मको सफलता अनिवार्य छ ।