मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘सानो संसार’ नाममा फेरि फिल्म बन्दै, घटस्थापनामा रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/05/24

Sano-Sansar-Team

 

सन् २००८ को चर्चित फिल्म ‘सानो संसार’को नाममा एकपटक फेरि फिल्म बन्ने भएको छ । ‘चपली हाइट’ निर्माता अर्जुन कुमारले फिल्मको निर्माण गर्न लागेका हुन् । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरियो । फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती)ले मुहूर्त सट दिएकी थिइन् ।

सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी आदिको अभिनय रहनेछ । उनीहरु सबैले यही फिल्मबाट डेब्यु गर्दैछन् । यही जेठ अन्तिमबाट काठमाडौं, धादिङ र नुवाकोटमा छायांकन हुने निर्माता कुमारले बताए । अघिल्लो ‘सानो संसार’सँग फिल्मको कुनै सम्बन्ध नरहेको पनि उनले प्रष्ट्याए ।

फिल्ममा निर्देशक सिद्धार्थ र सरिष्मा पुडासैनीको संयुक्त लेखन छ । शुभमुहूर्तसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । आगामी दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट फिल्म सार्वजनिक प्रदर्शनमा आउने भएको छ । अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको संयुक्त निर्माण रहने फिल्मले सानो परिवारको कथालाई पेश गर्ने निर्देशक पुडासैनीले बताए ।

 

Sano-Sansar (4)


निर्माता कुमार भने फिल्म कन्टेन्टले चल्ने भएकाले नयाँ कलाकार लिएको बताउँछन् । ‘फिल्ममा ‘स्टार’ चाहिन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । नयाँले पनि धेरै राम्रो गर्न सक्छन् । एउटै कलाकार र निर्देशकको भरमा फिल्म क्षेत्र टिकिरहन्छ भन्ने होइन । केही नयाँ गर्नुपर्छ ।’ उनले फिल्मको कथा मन परेकाले आफू जोडिएको बताए । उनले पछिल्लोपटक ‘चपली हाइट ३’ निर्माण गरेका थिए ।