बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले हलमा दर्शकको मेला लगाएका छन् । सानदार ओपनिङ गरेका दुवै फिल्म शनिबार पनि बक्स अफिसमा चम्किएका छन् । बिहानैदेखि देशभरका हलमा दुवै फिल्मप्रति दर्शकको क्रेज अद्भूत देखिन्छ । दुवै फिल्मले प्राप्त गरेको शोजमा मध्यान्हबाट शतप्रतिशत अकुपेन्सी छ ।
‘पूजार सार्की’ले पारिवारिक र युवापुस्ता दुवै वर्गका दर्शकलाई हलमा आकर्षिक गरेको देखिन्छ । लौरोको साहरामा वृद्ध-वृद्धादेखि काखमा बच्चा लिएर समेत फिल्म हेर्न पुगेका छन् । फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको क्रेज पनि हलमा गजब देखिएको छ । यसले उनीहरुको स्टारडम एकपटक फेरि प्रमाणित गरेको फिल्म क्षेत्रमा विश्लेषण भइरहेको छ ।
फिल्मले काठमाडौं उपत्यकासहित मोफसलका ठूला सहरहरु इटहरी, विर्तामोड, नेपालगञ्ज, विराटनगर, बुटवल, चितवन, पोखरा, दमौली, हेटौंडा लगायतका हलमा शनिबार बिहानैदेखि हाउसफुल व्यापार गरिरहेको जानकारी प्राप्त छ । साँझका कति शोजहरु दिउँसोबाटै हाउसफुल भैसकेका छन् भने कति भरिने क्रममा छन् । फिल्मले शनिबार एक करोडमाथिको व्यापार गर्ने प्रक्षेपण छ ।
आर्यन विरामी र पल जापान प्रदर्शनमा गएकाले शनिबार प्रदीपले फिल्मका अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बूको साथमा काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरुको प्रतिक्रिया बुझिरहेका छन् । फिल्म हेरेका दर्शक सन्तुष्ट भएकोमा उनी खुसी देखिए । दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ मिलेकाले ‘पूजार सार्की’ एकदमै बलियो र रुचाइएको फिल्म बन्छ भन्नेमा उनी विश्वस्त छन् ।
आफ्नो भूमिका र अभिनय दर्शकहरुले रुचाएकोमा पनि उनले खुसी व्यक्त गरे । उनी अगाडि भन्छन्, ‘अहिलेसम्म दर्शकले मलाई प्रेम भनिरहनुभएको थियो । अब मैते पनि भन्नुहुन्छ भन्ने विश्वास थियो । अहिले त्यही किसिमको प्रतिक्रिया मिलेको छ । पर्दामा मैते आउँदा दर्शकले एकदमै रमाइलो मान्नुभएको छ । फिल्म इन्डस्ट्रीबाट पनि प्रशंसा भइरहेको छ । यो मेरो लागि खुसीको कुरा हो ।’
त्यस्तै, ‘फर्की फर्की’ले पनि प्रदर्शनको दिनदेखि उत्साहप्रद व्यापार गरिरहँदा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले काठमाडौंमा विभिन्न हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । फिल्मप्रति युवापुस्ताको बढी आकर्षण देखिएको छ । शनिबार यो फिल्मको व्यापार पनि एक करोडमाथि हुने आँकलन छ । पहिलो दिन दुवै फिल्मको व्यापार ८० लाख नजिक थियो ।