मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मको फेरिएको दिन

फिल्मीखबर, काठमाडौं, 2024/05/26

५०-६० को दशक नेपाली फिल्मको उर्बर समय थियो । विदेशी फिल्मको उत्तिसाह्रो दबदबा थिएन । यसैले दर्शकको पहिलो रोजाईमा नेपाली फिल्म पर्दथे । हलमा हप्तौं चल्थे । प्रदर्शनको सय दिन र एकाउन्न दिन सामान्य मानिन्थ्यो । तर, इन्टरनेटको पहुँच बढेसँगै दर्शकको रुचि नेपाली फिल्ममा कम र विदेशी फिल्मतिर बढ्यो । एकै शैलीका फिल्म बन्नु पनि यसको प्रमुख कारण थियो ।

विश्वका फिल्म हेर्न थालेपछि दर्शकको स्वाद फेरियो । तर, नेपाली फिल्मको कथावाचन शैली फेरिएन । जसले गर्दा विदेशी फिल्मको नेपालमा यसरी दबदबा बढ्यो कि नेपाली फिल्म संकटको अवस्थामा आइपुगेको थियो । विदेशी फिल्मको मिति हेरेर नेपाली फिल्म रिलिज गर्नुपर्ने परिस्थिति बन्यो । तर, अहिले समय फेरिएको देखिन्छ ।

कुनै बेला विदेशी फिल्म हेर्न हलमा लाग्ने दर्शकको ताँती यतिबेला नेपाली फिल्ममा देखिन थालेको छ । गत चैतयताको समय हेर्ने हो भने नेपाली फिल्मका लागि उत्साहजनक मान्न सकिन्छ । विदेशी फिल्मभन्दा नेपाली फिल्मप्रति दर्शकको आकर्षण देखिएको छ ।  

 

pujar sarki


गत चैत ९ गते प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले तीन/चार हप्ता हलमा दर्शकको मेला लगायो । यसपछि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ (चैत ३०) अपेक्षाकृत नचले पनि व्यापार निराशाजनक पनि भएन । फिल्मले घरेलु बजारबाटै लगानी उठाएको छ । यी दुई फिल्मका कारण वितरकले बलिउडका दुई ठूला फिल्म ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ समेत नेपाल ल्याउने आँट गरेनन् ।

गत बैशाख २१ गते प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ त नपत्याउने खोला बनेर निस्कियो । फिल्म हेर्न केही हप्ता हलमा दर्शकको ठूलो भीड उर्लिएको थियो । अझै पनि प्राप्त शोजमा फिल्मको अकुपेन्सी राम्रो छ । फिल्मले नेपालमा मात्रै १० करोडमाथिको व्यापार गरिसकेको छ । गत बैशाख २४ मा आएको फिल्म ‘मनसरा’ले पनि सुखद् व्यापार गर्‍यो । फिल्मबाट निर्मातालाई घाटा छैन ।

यतिबेला हलमा प्रदर्शनरत दुई ठूला फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’लाई पनि दर्शकले राम्रो साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन बिहीबार र तेस्रो दिन शनिबार दुवै फिल्मले हलमा ठूलो मात्रामा दर्शक भित्राए । यी दुई फिल्मको अगाडि शुक्रबारबाट प्रदर्शनमा आएको ठूलो हलिउड फिल्म ‘म्याड म्याक्स’ समेत छायाँमा परेको छ ।

यसरी हेर्दा नेपाली फिल्मप्रति दर्शकको आकर्षण बढ्दो देखिएको छ । यसको प्रभाव आगामी दिनमा रिलिज हुन लागेका फिल्ममा पनि पर्ने आँकलन गरिएको छ । र, यस वर्ष फिल्म निर्माणमा पनि वृद्धि हुनसक्नेछ । यसले नेपाली फिल्मको भविष्य सुखद् देखाउँछ ।

नेपाली फिल्मप्रति दर्शकको रुचि बढ्नुको प्रमुख कारण गाउँ-समाजको कथा आउन थाल्नुलाई मानिएको छ । ‘जारी’देखि ‘बोक्सीको घर’सम्म सफल हुनु यही कारण हो । जब समाजदेखि टाढा भएर फिल्म बन्छन्, तब दर्शक पनि टाढिन्छन् । यतिबेला नेपाली फिल्मसँग नजिक बनेका दर्शकलाई बचाएर राख्नु अबको सबैभन्दा ठूलो चुनौती देखिन्छ ।