यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ३ मिनेट ४ सेकेण्ड लम्बाईको ट्रेलरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडलाई देखाइएको छ । प्रेम सम्बन्ध टुटेपश्चात् साम्राज्ञीसँग फेरि नजिक बन्न निश्चलले गरेको संघर्षमा ट्रेलर केन्द्रित छ ।
फिल्मले त्रिकोणात्मक प्रेमकथा पनि भन्छ । साम्राज्ञीलाई भुलाउन निश्चल अभिनेत्री गरिमा शर्मासँग नजिक बन्छन् । तर, उनीहरुको पनि सम्बन्ध टुट्छ । पछि गरिमासँग अभिनेता कबीर खड्काको प्रेम देखाइएको छ । ट्रेलर हेर्दा फिल्म युवापुस्तालाई लक्षित गरेर बनेको देखिन्छ । केही संवादले दर्शकको मन छुन सक्छन् । डेब्यु फिल्म भएता पनि निश्चलको ‘डाइलग डेलिभरी’ राम्रो देखिन्छ ।
घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत र लांगिनस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।
एबी इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्मसले निर्माण सहकार्य गरेका छन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । यस्तै, सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।