द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित भएर बनेको फिल्म ‘खुस्मा’को छायांकन सकिएको छ । पहिलो चरण मनाङमा र दोस्रो चरण पूर्वी रुकुममा पर्ने दुर्गम पहाडी क्षेत्र मैकोट र ताकसेरा क्षेत्रमा छायांकन गरेपछि एउटा गीत बाँकी राख्दै ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । गीतको छायांकन भने केही दिनभित्रमा गरिने लेखक तथा निर्देशक अशोक थापा मगरले जानकारी दिए ।
फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको जोडी बाँधिएको छ । दुवैले पहिलोपटक एकसाथ काम गरेका हुन् । फिल्मका लागि उनीहरुले मैकोटमा घोडसवारी पनि सिकेका थिए । यसमा उनीहरु गाउँले चरित्रमा छन् । फिल्ममा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन लगायतको पनि अभिनय छ ।
फिल्मको निर्माताहरुमा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन छ भने एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत छ । यो फिल्म आगामी असोज ३ गतेबाट नेपाल तथा विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।