मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’का मेरुदण्ड प्रदीप

फिल्मीखबर, काठमाडौं, 2024/05/26

नेपाली फिल्म क्षेत्रमा चकलेटी हिरोहरु अभिनयको दमले भन्दा पनि लुक्सको भरमा चलेका हुन् भन्ने भाष्य बनेको छ । धेरै हदसम्म यसमा सत्यता छ । प्रायः चकलेटी हिरोहरुको ‘फ्यान’ बनेका दर्शकहरु उनीहरुको लुक्सले नै आकर्षित भएका हुन् । र, मेकरहरु पनि उनीहरुलाई कसरी सुकिलोमुकिलो र चिटिक्क देखाउने भन्नेमै केन्द्रित रहन्छन् । जसले गर्दा पर्दामा अभिनय कच्चा देखिन्छ ।

अभिनेता प्रदीप खड्काले पनि लुक्सकै भरमा चलेको आरोप खेप्दै आएका थिए । तर, अरु चकलेटी हिरोजस्तो उनको अभिनयको आलोचना हुँदैन थियो र छैन । तथापि, एकैखालको भूमिका र अभिनयमा विविधता पस्किन नसक्दा उनी एउटै दर्शक समूह अर्थात् युवापुस्ताको घेरामा मात्र सीमित थिए । बौद्धिक तप्काका दर्शकले प्रदीपलाई अभिनेताको रुपमा समेत स्वीकार्न सकेका थिएनन् ।

 

Pradeep Khadka_Pujar Sarki1


तर, अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ले उनको छवि बदल्यो । यो फिल्मबाट फरक चरित्रमा पनि जीवन्त बाँच्न सक्ने अभिनेताको रुपमा पहिचान बनाएका प्रदीपले यतिबेला प्रदर्शनरत फिल्म ‘पूजार सार्की’बाट एकपटक फेरि आफूलाई अभिनयमा प्रमाणित गरेका छन् । यसमा उनको चरित्र जति पृथक छ, अभिनय त्यत्तिकै बुलन्द छ । उनी यो फिल्मका बलियो मेरुदण्ड हुन् ।

‘पूजार सार्की’मा उनी दमाहा बजाउने दमाई चरित्रमा छन् । चलबुले स्वभावको चरित्रमा प्रस्तुत भएका उनका हरेक क्रियाकलापले दर्शकलाई हँसाएर लोटपोट बनाउँछ । उनको ‘कमिक टाइमिङ’ उत्कृष्ट छ । हलमा दर्शकलाई बाँधेर राख्ने जिम्मेवारी नै उनको हो । उनी पर्दामा केहीबेर हराउँदा दर्शकले उनलाई नै खोज्छन् । यो फिल्मबाट उनले अभिनयमा आफ्नो राम्रो प्रभाव छाडेका छन् ।

फिल्म हेरेका दर्शकसँगै फिल्मकर्मीहरुले समेत प्रदीपको अभिनयको तारिफ गरिरहेका छन् । केही दिनअघि कलाकार दीपकराज गिरीले प्रदीपको अभिनय उल्लेख्य रहेको भन्दै प्रशंसा गरेका थिए । समीक्षकहरुले पनि उनको अभिनयको तारिफ गरिरहेका छन् । एकातिर अभिनयको वाहवाही हुनु र अर्कोतिर फिल्मले पनि जबर्जस्त कमाई गरेपछि प्रदीपलाई दुवै हातमा लड्डूझैँ भएको छ ।