मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जापानमा आक्रामक ‘पूजार सार्की’, पलको देखियो अद्भूत क्रेज

फिल्मीखबर, काठमाडौं, 2024/05/27

म्यूजिक भिडियोबाट उदाएका अभिनेता पल शाहको युवापुस्तामा जबर्जस्त क्रेज छ । उनी छायांकन हुँदा होस् वा महोत्सवमा पुग्दा देखिने क्रेज लोभलाग्दो हुन्छ । उनका फिल्म रिलिज हुँदा हलमा पनि दर्शकहरुको राम्रै चहलपहल देखिन्छ । यतिबेला प्रदर्शनरत फिल्म ‘पूजार सार्की’बाट पनि उनले आफ्नो स्टारडम देखाएका छन् । उनलाई हेर्नकै लागि ठूलो मात्रामा दर्शक हल पुगेका छन् ।

 

PUJAR SARKI_JAPAN SHOW3


उनको २ वर्षपछि हलमा फिल्म लागेको हो । पछिल्लोपटक फिल्म ‘म यस्तो गीत गाउँछु २’ (२०७८) रिलिज हुँदा उनी जेलमा थिए । त्यसबेला दर्शक भेट्न हलमा जाने उनको सपना अधुरै बनेको थियो । ‘पूजार सार्की’ले २ वर्षपछि उनको त्यो सपना पूरा गरिदियो । बिहीबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेट गरेपछि उनी फिल्मको प्रदर्शनका लागि जापान उडेका थिए ।

नेपालमा जस्तै जापानमा पनि पलको अद्भूत क्रेज देखिएको छ । दर्शकको भीड थामिनसक्नु हुँदा १२ सय सिट क्षमताको नाकानो जेरो हलमा १५ सय दर्शक राखेर फिल्म देखाइएको थियो । सिट नहुँदा कतिले उभिएर त कतिले भूँईमा बसेर फिल्म हेरेका थिए । पललाई हेर्नकै लागि पनि दर्शक ओइरिएका थिए । अहिले जापान शोको तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल छन् ।

नाकानो हलमा पलले इन्ट्री लिँदा उनलाई स्टेजसम्म पुर्‍याउनै आयोजकलाई हम्मेहम्मे परेको थियो । उनीसँग भेट गर्न र फोटो खिच्न दर्शकहरुमा चलेको घम्साघम्सी पनि नियन्त्रणबाहिर थियो । जब पल स्टेज उक्लिए तब युवतीहरुबाट ‘लाई लभ यू’को वर्षा भएको थियो । कतिले उनलाई गुलाबको फूल दिएर प्रेम दर्शाए । पलले पनि भ्याएसम्म तस्वीर खिच्दै र हात मिलाउँदै हार्दिकता देखाए ।

उक्त शोका आयोजकमध्येका एक सचिन आचार्यले ‘आउट अफ कन्ट्रोल’ भीडका साथ फिल्म चलेको बताए । ‘हामीले भीड थाम्नै नसक्ने अवस्था थियो । व्यवस्थापन मिलाउन खोज्दा भिड ‘आउट अफ कन्ट्रोल’ भयो । यो फिल्म र पल शाहको क्रेज देखेर हामी छक्क परेका छौँ,’ उनले भने । फिल्मको ठूलो डिमान्ड आएपछि जापानमा अन्य चारवटा शो निश्चित भएको उनले जानकारी दिए ।

 

PUJAR SARKI_JAPAN SHOW2


मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पूजार सार्की’ले इतिहास रचेको दाबी गरे । उनी भन्छन्, ‘यहाँ यो फिल्मको ऐतिहासिक शो सम्पन्न भयो । उत्कृष्ट प्रतिक्रिया पनि पायौँ ।’ २ वर्षपछि दर्शकसँग बसेर फिल्म हेर्दा पल भावविह्वल भएको पनि उनले बताए । फिल्मको शो सकिएपछि पलले आफ्नो चर्चित गीत ‘तिमी र म जाम माया’ गीतमा नृत्य गर्दा हल हुटिङ र तालीले गुञ्जिएको थियो ।

बिहीबारदेखि रिलिज भएको फिल्मले नेपालमा आकर्षक व्यापार गरिरहेको छ । भोलि (मंगलबार) सार्वजनिक विदा भएकाले फेरि फिल्मको व्यापारमा उछाल आउने प्रक्षेपण गरिएको छ । दिनेश राउतले निर्देशन गरेको फिल्ममा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको पनि अभिनय छ । अहिलेको ट्रेन्ड हेर्दा फिल्म सुपरहिट हुने सम्भावना देखिन्छ ।