अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा फिल्मकर्मीहरुले ठूलो अपेक्षा राखेका थिए । नजिकबाट फिल्म क्षेत्रको समस्या बुझेका उनले सम्झनलायक काम गर्ने विश्वास धेरैमा थियो । तर, उनको कार्यकाल विवादले बढी सम्झिने बनेको छ । उनी बोर्डको अध्यक्षमा नियुक्त भएदेखि सुरु भएको विवादको श्रृंखला उनको कार्यकाल अन्तिम घडीमा आइपुग्दा पनि यथावत् नै छ ।
आगामी साउनमा पदमुक्त हुन लागेका अध्यक्ष केसीले यतिबेला फिल्म क्षेत्रको विकासमा जोड दिनुभन्दा यो क्षेत्रको नामाकरण गर्नु महत्त्वपूर्ण ठानेका छन् । त्यसका लागि बोर्डले नेपाली फिल्म क्षेत्रको नाम तयार पार्न एउटा समिति बनाएको थियो । त्यो समितिले सिफारिस गरेको नाममा फिल्म सम्बद्ध संघ-संस्थाहरुसँग छलफल गरेपछि ‘सिनेमाण्डु’ राख्ने सहमति भएको जानकारी प्राप्त छ ।
अब बोर्डले सोमबार यो नामलाई अनुमोदन गरेर तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउने तयारी गरेको छ । त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्मा नाम पेश गर्नेछ । मन्त्रिपरिषद्ले पनि अनुमोदन गरेको अवस्थामा नेपाली फिल्म क्षेत्रको आधिकारिक नाम ‘सिनेमाण्डु’ हुनेछ । तर, बोर्डको यो कदमलाई लिएर फिल्म क्षेत्रमा चर्को रुपमा टिका-टिप्पणी सुरु भएको छ ।
‘द रेड सुटकेट’ र ‘ऐना झ्यालको पुतली’का निर्माता रामकृष्ण पोखरेलले फेसबुकमा स्टाटस लेख्दै कार्यालय सहायकको जति पनि ‘भिजन’ नभएका व्यक्तिलाई संघ-संस्थाको नेतृत्वमा निर्वाचित वा मनोनित गर्दाको प्रतिफल भन्दै कटाक्ष गरेका छन् । फिल्म क्षेत्रको नाम राख्न भएको सहमति असक्षम नेतृत्वको लाजमर्दो कार्य रहेको बताउँदै उनले यसको सबैले विरोध गर्नुपर्ने उल्लेख गरेका छन् ।
समीक्षक तथा लेखक सामिप्यराज तिमल्सिनाले पनि स्टाटसमार्फत फिल्म क्षेत्रको नाम राख्ने बोर्डको कार्यप्रति आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘दुनियाँलाई नचाहिने अनि हामीलाई मात्र बेग्लै नाम किन चाहिने होला ? नेपालको चलचित्र उद्योगलाई नेपाली चलचित्र उद्योगभन्दा नमिलेको के छ ? बुझाइपाउँ त ?’ बोर्डले वाहियात काम गरेर कीर्तिमान नै कायम गरेको उनको टिप्पणी छ ।
उनको स्टाटसको कमेन्टमा निर्देशक शिवम् अधिकारीले नाम राख्नका लागि समिति बनाउन जरुरी नै नभएको उल्लेख गर्दै ‘नेपाली फिल्म उद्योग’ नाम राख्न सुझाव दिएका छन् । त्यस्तै, कलाकार अमितेष शाहले ‘कम्पनी खोल्दैछन् क्या हो ?’ भन्दै बोर्डप्रति कटाक्ष गरेका छन् । निर्देशक तथा लेखक परिक्षेद सेनले ‘सिनेमाण्डु’लाई फिल्म क्षेत्रको नाम हो कि ‘न्यूज पोर्टल’ भन्दै व्यंग्य गरेका छन् ।