फिल्म ‘फर्की फर्की’बाट सुपरस्टार अनमोल केसीले अघिल्लो फिल्म ‘छड्के २’बाट गुमेको स्टारडम फर्काएपछि अब उनकै फिल्म ‘ड्रिम्स’बाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई पनि आफ्नो नयाँ फिल्म ‘लण्डन टू पेरिस’बाट स्टारडम ‘रिन्यू’ गर्नुपर्ने चुनौती रहेको टिप्पणी भैरहेको छ । अघिल्ला केही फिल्महरु असफल हुँदा उनको करिअरलाई नै प्रत्यक्ष रुपमा असर पारेको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साम्राज्ञीलाई पत्रकारले सोधेका थिए, ‘तपाईंलाई अब स्टारडम ‘रिन्यू’ गर्नुपर्छ भन्ने बोध भएको छ ?’ उनले यसलाई स्वभाविक मानिन् । उनले भनिन्, ‘सायद त्यो सबैजनालाई हुन्छ । त्यो हाम्रो मानवीय स्वभाव हो । सबैलाई राम्रो गर्न मन लाग्छ । राम्रो कामलाई सबैले मन पराइदिउन्, माया गरिदिउन् भन्ने त भइहाल्छ नि । यो स्वभाविक नै हो ।’
साम्राज्ञी डेब्यु फिल्मदेखि शहरीया चरित्रमा सीमित छिन् । तर, यो आफ्नो इच्छा नभएको उनको जिकिर छ । उनी भन्छिन्, ‘शहरी चरित्रमा मैले आफूलाई राखेको होइन । मलाई राखिएको हो । मलाई एउटा जनरामा सीमित बनाइएको छ । त्यसैले त्यस्तै स्क्रिप्ट आउँछ । मलाई पनि फरक चरित्रमा काम गर्न मन छ । तर, जुन स्क्रिप्ट आउँछ, त्यसबाट छानेर राम्रो लागेकोमा मात्र काम गर्छु ।’
‘लण्डन टू पेरिस’को चरित्रमा काम गर्न चुनौतीपूर्ण नभएको साम्राज्ञीको अनुभव छ । तर, फिल्मको कथा फरक रहेको उनको दाबी छ । ‘मलाई यो चरित्रमा काम गर्न त्यस्तो केही चुनौतीपूर्ण भएन,’ उनी अगाडि भन्छिन्, ‘स्क्रिप्ट चाहिँ फरक थियो । मेरो चरित्र ठाडो बोल्ने, छुच्ची, घमण्डी खालको भए पनि कथा फरक छ ।’ उनले फिल्मको कथा आफ्नो जीवनसँग पनि थोरै मिल्ने बताएकी छन् ।
यही जेठ २५ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा साम्राज्ञीले फ्रान्सस्थित पेरिस सहरमा बस्ने युवतीको भूमिका निभाएकी छन् । यसै साता सार्वजनिक ट्रेलर हेर्दा उनको भूमिका बोल्ड देखिन्छ । प्रेम र विवाह टुटेपछि विक्षिप्त बनेकी उनको जीवनमा पूर्वप्रेमीको आगमन भएपछि आउने उतार-चढावलाई देखाइएको छ । फिल्ममा उनको जोडी डेब्यु अभिनेता निश्चल खड्कासँग बाँधिएको छ ।