बलिउड सुपरस्टार सलमान खानको यस वर्ष अर्थात् २०२४ मा कुनै फिल्म प्रदर्शन हुने छैनन् । आगामी वर्ष (२०२५) को इदमा भने उनको महत्वाकांक्षी फिल्म ‘सिकन्दर’ प्रदर्शनमा आउने निश्चित भइसकेको छ । यो फिल्ममा सलमानको जोडी ‘एनिमल’ अभिनेत्री रश्मिका मन्दानासँग बाँधिनेछ । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेकाले दर्शकमा पनि फिल्मप्रति उत्साह बढेको छ ।
अब फिल्ममा भिलेनको पनि टुंगो लागेको छ । निर्माण टिमले ‘बाहुबली’ श्रृंखलामा ‘कटप्पा’को भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता सत्यराजलाई अनुबन्ध गरेको छ । उनी स्वयंले एक अन्तर्वार्ताको क्रममा यसको पुष्टि गरेका हुन् । सत्यराजले ११ वर्षपछि बलिउड फिल्ममा काम गर्न लागेका हुन् । पछिल्लोपटक उनले सन् २०१३ मा आएको फिल्म ‘चेन्नई एक्सप्रेस’मा काम गरेका थिए ।
‘किक’ निर्देशक तथा निर्माता साजिद नाडियाडवालाको निर्माणमा बन्न लागेको फिल्मका निर्देशक ए.आर. मुरुगदास हुन् । ‘गजनी’ जस्तो ‘मास्टरपिस’ फिल्म दिएका मुरुगादास साउथका अब्बल निर्देशक मानिन्छन् । उनले ‘दरबार’, ‘सरकार’, ‘स्टलिन’, ‘स्पाइडर’, ‘थुप्पाकी’ जस्ता एक दर्जन बढी फिल्मको निर्देशन गरेका छन् । ‘गजनी’पछि उनको सफल बलिउड फिल्म ‘होलिडे’ (२०१४) हो ।