सरकारले फिल्म छायांकनका लागि स्टुडियो निर्माणको काम अगाडि बढाउने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काभ्रेको बनेपामा फिल्म स्टुडियो निर्माणको काम सुरु गरिने जानकारी गराएका हुन् ।
अर्थमन्त्री पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बताएका छन् । स्टुडियो निर्माण र फिल्म सिटीसहितका आयोजनाका लागि सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा फिल्म स्टुडियो निर्माण गर्न दिने निर्णय गरेपछि जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरिसकेको छ । अब सरकारले स्टुडियो निर्माणको काम अगाडि बढाउने भएपछि फिल्म क्षेत्रमा खुसी छाएको छ ।