अभिनेत्री निशा अधिकारीले निर्माण गरेको पहिलो फिल्म थियो, ‘झ्यानाकुटी’ । यो २०७४ सालमा आएको थियो । यसबाट उनलाई घाटा भएन । फिल्मको दृश्यभाषा पनि बलियो थियो । अब फेरि उनी फिल्म निर्माणको तयारीमा जुटेकी छन् । ‘झ्यानाकुटी’ लेखक प्रदीप भारद्वाजले यतिबेला स्क्रिप्ट लेखिरहेका छन् । निशाले यो फिल्मबाट निर्देशनमा पनि डेब्यु गर्न लागेको चर्चा चलिरहेको छ ।
तर, निर्देशनलाई लिएर अहिले कुनै निर्णय नगरेको निशाको भनाई छ । फिल्मीखबरसँगको फोनवार्तामा उनले भनेकी छन्, ‘मैले नै निर्देशन गर्ने भनेर अहिले केही सोचेकी छैन । राम्रो फिल्म बनाउनुपर्छ भन्नेमा चाहिँ छु । कथा पनि साह्रै मनपरेको छ । अब स्क्रिप्ट कस्तो बन्छ र त्यसमा मैले कति गर्न सक्छु भन्ने बुझेर मात्र निर्देशनको बारेमा निर्णय लिन्छु । निर्देशन गर्नैपर्छ भन्नेमा चाहिँ म छैन ।’
निर्देशन गर्ने सम्भावना अहिलेलाई ५० प्रतिशत रहेको उनी बताउँछिन् । प्रोडक्सनको आफ्नै ‘प्रेसर’ हुने भएकाले निर्देशनको बारेमा नसोचेको उनको भनाई छ । ‘प्रोडक्सनको काम आफैंमा एकदमै ‘प्रेसर’को हुन्छ । निर्देशन पनि गर्दा अर्को ‘प्रेसर’ थपिन्छ । यसैले स्क्रिप्ट तयार भएपछि निर्देशनको बारेमा सोच्छु,’ उनले भनिन् । तर, निशाको मनस्थिति फिल्मलाई आफैंले निर्देशन गर्ने देखिन्छ ।
विवाह र सन्तान भएपछि केही वर्ष अभिनयमा निस्क्रिय देखिएकी निशा यतिबेला लगातार फिल्ममा काम गरिरहेकी छन् । गत वर्ष उनको दुईवटा फिल्म ‘जय हो’ र ‘जुलेबी’ रिलिज भएका थिए । अब उनको नयाँ फिल्म ‘आँखा’ आगामी असार १४ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ । कुनै समय नेपाली फिल्ममा राम्रो उपस्थिति जनाएकी उनले ५० हाराहारी फिल्ममा काम गरेकी छन् ।