नेपाली फिल्म क्षेत्र केही सीमित कलाकारको वरिपरि घुमेको छ । अभिनेतामा दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का र पल शाहको बोलबाला छ । अभिनेत्रीहरुमा स्वस्तिमा खड्का, पूजा शर्मा, वर्षा राउत, साम्राज्ञी आरएल शाह बढी चलेका छन् । जसले गर्दा मेकरहरुलाई कलाकारमा धेरै विकल्प छैन । यसैले एउटै कलाकार प्रायः फिल्ममा दोहोरिरहन्छन् ।
नयाँ कलाकारहरुको आगमन नभएको पनि होइन । तर, ज्यादै कमले आफ्नो प्रभाव छाडेका छन् । अब धेरैको नजर यही जेठ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लण्डन टू पेरिस’मा छ । यसबाट निश्चल खड्काले डेब्यु गरेका छन् । फिल्मको ट्रेलर रिलिज भएपछि धेरैले उनलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेर्न थालिएको छ । उनको लुक्स र डाइलग डेलिभरी राम्रो देखिन्छ ।
निश्चलले अभिनय गरेको ‘लण्डन टू पेरिस’ पहिलो फिल्म भए पनि सम्झौताको हिसाबले यो तेस्रो हो । यसअघि उनले दुईवटा फिल्म सम्झौता गरेका थिए । तर, ती कुनै बनेनन् । यसमा भने उनी अडिसनबाट छनोट भएका हुन् । फिल्मको रिलिज नजिकिँदै उनमा गर्दा डर र उत्साह दुवै देखिएको छ । तर, फिल्म राम्रो बनेकाले दर्शकहरुलाई मनपर्छ भन्नेमा उनी एकप्रकारले विश्वस्त देखिन्छन् ।
यसमा उनी अपिलको भूमिकामा छन् । जो लण्डनमा बस्छ । उसको लण्डनदेखि पेरिससम्मको यात्राको कथा फिल्मले भन्छ । उनी यो फिल्मलाई लभस्टोरी जर्नी भन्न रुचाउँछन् । आफ्नो चरित्रको इमोसनमा धेरै उतार-चढाव रहेको उनको भनाई छ । र, फिल्मको चरित्र र आफूबीच ठूलो भिन्नता रहेको उनको अनुभव छ । तर, कलाकार भएपछि सबैखालको चरित्र गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।
उनी भन्छन्, ‘फिल्मको क्यारेक्टर र ममा ठूलो भिन्नता छ । म कस्तो स्वभावको छु भने कुरा सबैको सुन्छु, निर्णय चाहिँ आफैं लिन्छु । तर, फिल्ममा कसैले उस्कायो भने मेरो क्यारेक्टरले त्यही गर्छ । रियल लाइफमा भने म कसैको कुराबाट उक्सिन्नँ । स्क्रिप्ट पढ्दा यो केटा कस्तो खालको हो भन्ने चाहिँ भएको थियो । तर, म कलाकार हुँ । हामी बहुरुपिया हुन्छौं । जस्तो क्यारेक्टर पनि गर्नुपर्छ ।’
फिल्ममा निश्चलको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिएको छ । साम्राज्ञीबाट आफूले धेरै सिक्न पाएको उनको अनुभव छ । ‘साम्राज्ञीभन्दा म एकदमै जुनियर हुँ । उहाँ सिनियर हुनुहुन्छ । कति कुरा सिनियरबाट सिक्न सकिन्छ । उमेरले हामी लगभग एउटै भए पनि ‘प्रोफेसन’को हिसाबले उहाँ एकदमै परिपक्व हुनुहुन्छ । उहाँबाट छायांकनको बेला मैले धेरै सिक्न पाएँ,’ उनले भने ।