‘होस्टेल रिर्टन्स’ फेम्ड अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्म ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार एक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिनलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्मको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको हुनसक्ने देखिन्छ ।
पोस्टरमा सुशील एक्लै प्रस्तुत छन् । स्टाइलिस तर ‘एंग्री मुड’मा देखिएका उनी मेशिनगनसहित चित्रित छन् । उनमा बदलाको भाव देखिन्छ । पोस्टरको पृष्ठभूमिमा उडिरहेको सैनिकको हेलिकप्टर र सैनिकहरुको जत्था देखिएको छ । यसले सुशील सैनिक चरित्रमा हुनसक्ने आँकलन गर्न ठाउँ छाडेको छ । विक्की महर्जनद्वारा निर्देशित फिल्मले कानुन नमान्ने व्यक्तिको कथा भन्ने जनाइएको छ ।
निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्मातामा छन् । नविन गुरुङको छायांकन रहेको फिल्ममा ‘ट्रेलर मास्टर’ साहिल खानको सम्पादन छ भने चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।