अघिल्लो हप्ता प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले पहिलो हप्ता घरेलु बजारमा उत्साहप्रद व्यापार गर्यो । आज बिहीबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले शोज संख्या घट्न दिएको छैन । जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथामा बनेको फिल्मले ‘वर्ड अफ माउथ’ राम्रो पाएको छ । यसैले आगामी दिनमा पनि फिल्मको व्यापार स्थिर रहने विश्वास निर्माण टिमको छ ।
बुधबार साँझ ठमेलस्थित छायाँ सेन्टरमा निर्माताले फिल्मको विशेष शो आयोजना गरेका थिए । जहाँ ‘दर्पण छायाँ’ निर्देशक तुलसी घिमिरेले ‘पूजार सार्की’ नेपाली फिल्म क्षेत्रका लागि ‘माइलस्टोन’ भएको दाबी गरे । उनले भनेका थिए, ‘यो फिल्मभन्दा पनि एउटा यथार्थ सत्य हो । यो हाम्रो नेपाली फिल्म क्षेत्रका लागि ‘माइलस्टोन’ भयो ।’ उनले यसलाई ‘ऐतिहासिक फिल्म’को समेत संज्ञा दिए ।
‘पूजार सार्की’ जस्ता फिल्मले फिल्म क्षेत्र धनी हुने उनको तर्क थियो । ‘यसमा मैले धेरै कुरा सिक्न पाएँ । मैले कति कुराहरु जानेको थिइनँ,’ निर्देशक घिमिरेले अगाडि भने- ‘यो टिमले फिल्म क्षेत्रलाई ‘पूजार सार्की’ दिएर धेरै धनी बनाएको छ । यस्तो फिल्मले नेपाली फिल्म क्षेत्र नै धनी हुन्छ । हामी संसारमा जान सक्छौं ।’ उनले फिल्मका कलाकारहरुको अभिनय उल्लेखनीय रहेको पनि बताए ।
त्यस्तै, ‘जात्रा’ सिरिजका निर्देशक प्रदीप भट्टराईले यो फिल्म हेरेपछि समाजलाई धिकार्न मन लागेको टिप्पणी गरे । उनले भने- ‘यो फिल्म हेरेपछि समाजलाई धिकार्न मन लाग्यो । अहिले पनि हामी जातका कारण मान्छे मारिरहेका छौं भनेपछि यो जति लज्जाको विषय अरु के हुनसक्छ ! यस्तो गर्नु हुँदैन भनेर हामी फिल्म बनाइरहेका छौं । जातको विषयमा बनेको यो नै अन्तिम फिल्म होस् ।’
प्रदीपले निर्देशक दिनेश राउतलाई लभस्टोरीको बादशाहको समेत संज्ञा दिए । ‘उहाँले जुन विषयमा फिल्म बनाए पनि यसरी लभ हाल्नुहुन्छ कि त्यो उहाँको खुबी हो,’ भट्टराई अगाडि भन्छन्, ‘निर्देशक एउटा समयपछि बजार लगायतको कुराबाट निर्देशित हुन्छ । सुरुवाती आँटहरु हराउँदै जान्छन् भनिन्छ । म त्यो आँट उहाँबाट लिन चाहन्छु । यस्तो चीजमा निडर भएर कथा भन्नुभएको छ ।’
विशेष शोमा उपस्थित निर्देशक तथा निर्माता सुदर्शन थापा, अभिनेत्रीहरु सुरक्षा पन्त, मलिका महत, अभिनेताहरु शिशिर वाङ्गदेल, सरोज खनाल, सलोन बस्नेत, दिव्यदेव, रविन्द्र सिंह बानियाँ, निर्देशक शोभित बस्नेत लगायतले पनि कलाकारको अभिनय, निर्देशन पक्ष तथा विषयवस्तुको प्रशंसा गरेका थिए । राजनीतिज्ञदेखि दलित संघ-संस्थाका व्यक्तिहरुको पनि विशेष शोमा उपस्थिति थियो ।