फिल्मको रिलिज हेरफेर हुनु सामान्य भैसकेको छ । निर्माताले विभिन्न पक्षलाई मध्यनजर गर्दै रिलिज सारिरहेका हुन्छन् । आगामी असोज ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘ह्रस्व दीर्घ’को पनि रिलिज फेरबदल भएको छ । अब यो फिल्म एक हप्ता अगाडि सर्दै असोज ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा अरु दुई फिल्म पनि छन् ।
निर्माता नीता ढुंगानाले फिल्मलाई एक हप्ता अगाडि सार्नुको पछाडि दुईवटा कारण मानिएको छ । पहिलो, असोज ११ गते आउँदा दोस्रो हप्तादेखि दशैंका दुई ठूलो फिल्म ‘छक्का पञ्जा ४’ र ‘बेहुली फ्रम मेघौली’ले असर गर्न सक्थ्यो । दोस्रो, असोज ३ मा आउँदा संविधान दिवस र असोज ९ गते जितिया पर्वको गरी दुईवटा विदा पर्छ । यसैले फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको देखिन्छ ।
द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा नेपाली र दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरुको ‘पल्टन’ नै छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा लगायतको अभिनय छ भने साउथबाट ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।
हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । यसमा मित्र डि गुरुङको सम्पादन छ भने गीतमा रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।