गत हप्ताको बिहीबारबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘पूजार सार्की’ले दोस्रो हप्तामा पनि व्यापारिक रफ्तारलाई कायम राखेको छ । विशेषगरी विदाको दिन फिल्मप्रति दर्शकको क्रेज भव्य देखिन्छ । दोस्रो हप्ताको शनिबार पनि फिल्मले देशभर उच्च ‘अकुपेन्सी’ कायम गर्यो । ‘वर्ड अफ माउथ’ बलियो रहेकाले आगामी दिनमा पनि व्यापार स्थिर रहने निर्माण टिमको विश्वास छ ।
यसैबीच, फिल्मका अभिनेता पल शाह मोफसलका दर्शकसँग भेट गर्न निस्किएका छन् । शनिबार उनले नेपालगञ्जको सिनेरोयल र क्यूएफएक्स हलमा पुगेर दर्शकसँग भेट गरेका छन् । उनी आउने खबर पाएपछि दर्शकहरु घण्टौँ पर्खेर बसेका थिए । जब पलको प्रवेश हल परिसरमा भयो तब दर्शकमा उत्साह देखिन्थ्यो । उनीसँग भेट्न र तस्वीर खिच्न दर्शकरुबीच ठूलै हानाथाप चलेको थियो ।
नेपालगञ्जको आदर्शनगरस्थित सिनेरोयल हलमा शनिबार फिल्मलाई प्राप्त आठवटा शोज सबै हाउसफुल जनाइएको छ । यसलाई हलका सीइओ रितेश श्रेष्ठले ‘ऐतिहासिक रेकर्ड’ भनेका छन् । यसअघि गत बुधबार पनि फिल्मले प्राप्त गरेको कूल ६ वटै शोज हाउसफुल भएका थिए । शनिबार नेपालगञ्जको क्यूएफएक्स हलमा पनि फिल्म हेर्ने दर्शक उल्लेख्य देखिएको जानकारी प्राप्त छ ।
पलसँगै मोफसल यात्रामा फिल्मका निर्देशक दिनेश राउत पनि छन् । निर्देशक राउतले फिल्मलाई व्यावसायिक सफलता दिलाउने दर्शकलाई धन्यवाद व्यक्त गरे । दर्शकबाट फिल्म राम्रो रहेको प्रतिक्रिया पाइरहेको उनको भनाई छ । अभिनेता शाह र निर्देशक राउत भोलि आइतबार दाङको भिएफएक्स सिनेमा हल र सोमबार धनगढीस्थित एसटिएस सिनेमा हलमा पुग्ने तालिका रहेको छ ।