कुनै बेला रोमान्टिक हिरोको छवि बनाएका अभिनेता राजबल्लभ कोइराला अब ९ वर्षपछि फिल्ममा फर्किँदैछ । फिल्म ‘एक्टर’बाट उनको कमब्याक हुन लागेको हो । करिब १० वर्षदेखि अमेरिकामा बस्दै आएका उनी यो फिल्ममा अभिनय गर्न आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई फिल्मका निर्देशक राजन भुषाल र निर्माता थमनकुमार भण्डारीसहितले स्वागत गरेका थिए ।
राजबल्लभले फिल्मका अभिनेता प्रदीप खड्का र अभिनेत्रीद्वय आना शर्मा र दिव्या रायमाझीसँग पनि भेट गरिसकेका छन् । दिव्या अमेरिकामा बस्दा राजबल्लभसँग प्रायः भेट भइरहन्थ्यो । प्रदीप र आनाको भने राजबल्लभसँग पहिलो भेट हो । भोलि सोमबारबाट काठमाडौंमा दोस्रो चरणको छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभको भूमिकाको बारेमा कुनै जानकारी गराइएको छैन ।
आरजे हुँदै फिल्म ‘पर्खि बसें’बाट उनको डेब्यु भएको थियो । पहिलो फिल्म नै सफल हुँदा उनले करिअर फर्केर हेर्नुपरेन । ‘हाइवे टु धम्पुस’बाट उनले हलिउडमा समेत डेब्यु गरेका थिए । यही फिल्मको छायांकनका लागि २०७१ सालमा अमेरिका गएपछि उनले अभिनयलाई निरन्तरता दिन सकेका थिएनन् । नेपाली फिल्ममा भने उनी पछिल्लोपटक ‘हे युवा’ (सन् २०१५) मा देखिएका थिए ।
यसपालिको तिहार विदाको मौका छाप्दै कात्तिक १५ गते (लक्ष्मीपूजा)देखि प्रदर्शनमा आउन लागेको यो फिल्मको पहिलो चरणको छायांकन पोखरामा भइसकेको छ । फिल्ममा दिव्यदेव, सुशील सिटौला लगायतको पनि अभिनय रहनेछ । अदृत फिल्म्स र मोती फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्मको सह-निर्मातामा एनिस भुसाल रहेका छन् । फिल्मका छायाँकार भने नरेन्द्र मैनाली हुन् ।