मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७ वर्षपछि भेट भएका प्रेम र गीत, फिल्ममा हुँदैछ सहकार्य ?

फिल्मीखबर, काठमाडौं, 2024/06/02

कलाकारहरुबीच चिसो-तातो सम्बन्ध भैरहन्छ । कहिले घनिष्ट देखिन्छन् त कहिले एकअर्काको नाम पनि सुन्न चाहँदैनन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको हकमा पनि यी दुईवटै चरण देखियो । फिल्म ‘प्रेमगीत’ गर्दा उनीहरु नजिक थिए । फिल्म रिलिजसम्म आइपुग्दा सम्बन्धमा चिसोपना सुरु भइसकेको थियो । फिल्म रिलिज भएपछि भने उनीहरुबीच बोलचाल नै बन्द भयो ।

‘प्रेमगीत’का प्रेम र गीतको सम्बन्ध विग्रनुमा उनीहरुबीचको मनमुटावभन्दा पनि ‘प्रेमगीत’ निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनबीचको दरार मुख्य कारण थियो । त्यसबेला सन्तोषलाई प्रदीपले र सुदर्शनलाई पूजाले साथ दिएपछि उनीहरुबीचको सम्बन्ध चिसिन पुगेको थियो । यसपछि दुवैले एकअर्कालाई घुमाउरो रुपमा कटाक्ष समेत गरेका थिए । तर, भेट हुँदा हार्दिकता देखाउँथे ।

 


एकपटक फेरि उनीहरुबीच ७ वर्षपछि भेट भएको छ । शनिबार काठमाडौंमा आयोजित एक अवार्ड कार्यक्रममा पूजाले अभिनेत्री रेखा थापासँग अन्तर्वार्ता दिइरहँदा प्रदीपले त्यहीँ पुगेर भेट गरेका थिए । उनीहरुले एकअर्कासँग अंकमाल गर्दै अन्तर्वार्ता पनि दिए । प्रदीप र पूजालाई वर्षौंपछि एउटै ‘फ्रेम’मा देख्दा रेखाले खुसी व्यक्त गरिन् । उनले दुवैलाई मिलेर काम गर्न पनि सुझाव दिइन् ।

लामो समयपछि भेट भएकाले हुनसक्छ, अन्तर्वार्ताको क्रममा प्रदीप र पूजा एकअर्कासँग असहजझैँ देखिन्थे । दुवैले आँखा जुधाएर कुरा गर्न सकेका थिएनन् । यद्यपि, आफूहरुबीच कहिल्यै झगडा नभएको प्रदीपले स्पष्ट पारे । उनले भने, ‘हामीबीच त्यस्तो ठूलो समस्या कहिल्यै थिएन । अनि हामीले आ-आफ्नै हिसाबले काम गरिरहेका थियौं ।’ पूजाले पनि प्रदीपको कुरामा सहमति जनाइन् ।

यतिबेला प्रदीप र पूजाको फिल्ममा सहकार्यको चर्चा पनि चलिरहेको छ । निर्देशक सुदर्शन थापाले सम्भवतः यस वर्ष नै प्रदीपलाई लिएर लभस्टोरी फिल्म बनाउँदैछन् । त्यसमा पूजा पनि हुने निश्चित प्रायः छ । रेखाले पनि प्रदीप र पूजालाई लिएर फिल्म बनाउन लागेको चर्चा छ । यसैले अब फिल्ममा निरन्तर सहकार्यका लागि उनीहरु विगतको तिक्तता भुलेर नजिक बन्ने प्रयासमा देखिन्छन् ।