‘धौली’ र ‘पञ्चेबाजा’बाट मौलिक फिल्म बनाउने निर्देशकको पहिचान बनाएका घनश्याम लामिछानेले गत वर्ष प्रदर्शन भएको फिल्म ‘चित्रा’मा फरक प्रयास गरे । यसमा उनले बाबु-छोरीबीचको सम्बन्धको कथामा एक्सनको स्वाद पस्किएका थिए । अब उनको नयाँ फिल्म ‘लण्डन टू पेरिस’ यही जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा भने उनले विदेश बस्ने युवापुस्ताको कथा भनेका छन् ।
फिल्मलाई लण्डनमा छायांकन गरिएको हो । तर, फिल्म नेपाली परिवेशको रहेको उनको जिकिर छ । उनी भन्छन्, ‘यो हाम्रै कथा हो । नेपाली डायस्पोराको कथा हो । लण्डनमा बस्ने नेपाली युवाको कथा हो । हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने जुन बुझाई छ त्यो गलत हो । शेर्पा, थारु, गुरुङ, कौडालाई मात्र हाम्रो कथा मान्छौं । विदेश बस्ने नेपालीको कथा पनि हाम्रोकथा हो ।’
उनलाई बाहिर बस्ने युवापुस्ताको कथा भन्न जरुरी छ भन्ने लाग्छ । यसैले यो फिल्म बनाएको उनी बताउँछन् । ‘मैले हिजोको दिनमा गाउँघरकै कथा देखाएँ । तर, आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु,’ उनले भने । फिल्म हेरिरहँदा दर्शकलाई कथाबाहिर गए जस्तो नलाग्ने उनको जिकिर छ । फिल्मको कथा र पात्रसँग दर्शकहरुले अपनत्व महसुस गर्नेमा उनी विश्वस्त छन् ।
‘फिल्मका पात्रसँग दर्शकले आफूलाई मज्जाले ‘रिलेट’ गर्न सक्नुहुन्छ । फिल्म केही ‘लार्जर देन लाइफ’ पनि छ । अहिले हामी एउटै फ्लेवरका फिल्म हेरेर दिक्क भइसकेका छौं । यसैले दर्शकलाई ‘लण्डन टु पेरिस’ले ‘रिफ्रेस’ बनाउँछ,’ घनश्याम सुनिए । फिल्मको कथा सशक्त रहेकाले दर्शकलाई मनपर्ने उनको दाबी छ । फिल्मको कथा र प्रस्तुतिकरण दुवै फरक रहेको पनि उनी बताउँछन् ।
ट्राभल लभस्टोरीको कथामा बनेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कबीर खड्का, मनिष गान्धी र रुष्मा थापाको अभिनय छ । यही फिल्मबाट निश्चल र गरिमाले डेब्यु गरेका हुन् । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना छन् । फिल्ममा अभेद परवको छायांकन छ ।