दक्षिण भारतीय सुपरस्टार थलापति विजय चाँडै अभिनय छाडेर पूर्णकालिन राजनीतिमा आउँदैछन् । उनले करिब तीन महिनाअघि ‘तमिझागा वेत्री कझगम’ नामको पार्टी समेत घोषणा गरिसकेका छन् । सन् २०२६ मा हुने विधान सभामा उनले चुनाव लड्ने चर्चा छ । तर, योभन्दा अगाडि उनी दुईटा फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ र ‘थलापति ६९’ (वर्किङ टाइटल)मा देखिने तयारीमा छ ।
यसमध्ये ‘द ग्रेटेस्ट अफ अल टाइम’को छायांकन पूरा भइसकेको छ भने आगामी सेप्टेम्बर ५ (२०२४) मा प्रदर्शनमा आउँदैछ । तर, अर्को फिल्म ‘थलापति ६९’को निर्माण अन्योल रहेको भारतीय मिडियाले जनाएका छन् । यसको कारण विजयको पारिश्रमिकलाई मानिएको छ । कोईमोईको एक रिपोर्टअनुसार, उनको पारिश्रमिकको कारण यो फिल्ममा लगानी गर्न कोही निर्माता तयार छैनन् ।
पहिला फिल्मलाई ‘आरआरआर’का डीवीवी दनय्याले निर्माण गर्दै थिए । तर, पछि उनी बाहिरिए । विजयको पारिश्रमिकका कारण नै उनी फिल्म निर्माणबाट पछाडि हटेको बताइएको छ । यो फिल्मका लागि उनले साढे २ सय करोड पारिश्रमिक मागेका छन् । र, उनले निर्देशकमा आफू निकट मानिने एच. विनोथलाई राख्न सल्लाह दिएपछि निर्माता दनय्या विच्किएको कोईमोईले जनाएको छ ।
‘थलापति ६९’ निर्माण भएको खण्डमा विजयको यो अन्तिम फिल्म हुनेछ । यसपछि उनी राजनीतिमा केन्द्रित हुनेछन् । उनी तमिल क्षेत्रमा रजनीकान्तपछिकै प्रभावशाली अभिनेता मानिन्छन् । त्यहाँ उनको प्रभाव कुन हदसम्म छ भने उनको नाममा खुलेको पार्टीले सन् २०२१ मा तमिलनाडुको स्थानीय निकायको चुनावमा ११५ सिट जितेको थियो । जबकि, यो पार्टीमा विजय आबद्ध नै थिएनन् ।