कलाकारको करिअरमा निर्देशकको ठूलो भूमिका हुन्छ । यसैले स्थापित निर्देशकको छत्रछायाँमा बस्न चाहन्छन् कलाकारहरु । र, नेपाली फिल्ममा थोरै यस्ता निर्देशक छन्, जोसँग कलाकारहरु काम गर्न इच्छुक देखिन्छन् । त्यसमा पर्छन्, दिनेश राउत । कहिले ‘नोभेम्बर रेन’ जस्तो लभस्टोरी फिल्म त कहिले ‘प्रसाद’ जस्तो मौलिक फिल्म दिएका उनी ‘स्टार’ कलाकारको पनि रोजाईमा छन् ।
यतिबेला दिनेशलाई तीन ‘स्टार’ले घेरेर राखेका छन् । आर्यन सिग्देल उनका साथी नै भइहाले । उनीहरुबीच चार फिल्ममा सहकार्य भइसकेको छ । ‘प्रकाश’देखि अभिनेता प्रदीप खड्काले पनि उनको साथ छाडेका छैनन् । अब दिनेशको क्याम्पमा अर्का अभिनेता पल शाहको प्रवेश भइसकेको छ । उनीप्रतिको विश्वासले नै ‘पूजार सार्की’मा आर्यन, प्रदीप र पलको टिमअप सम्भव भएको थियो ।
आर्यन र प्रदीपपछि अब पलले पनि दिनेशको ‘क्याम्प’ छाड्ने देखिँदैन । ‘पूजार सार्की’ रिलिजपछि उनले जसरी दौडधुप गरिरहेका छन्, त्यो निर्देशक राउतकै लागि रहेको बताइन्छ । फिल्म रिलिजको संघारमा हुँदा उनी अर्को फिल्म ‘रावायण’को सुटिङमा थिए । त्यसैले प्रचारमा खासै हिँड्न पाएनन् । तर, त्यसको भरपाई उनले फिल्म रिलिजपछि गरेका छन् । यतिबेला उनकै बढी खटाई छ ।
फिल्म रिलिजकै दिन उनले काठमाडौंका विभिन्न हल पुगेर दर्शकसँग भेट गरे । उनी जापान पनि पुगे । त्यहाँबाट फर्किएपछि फेरि केही दिन हल चहारे । यतिबेला निर्देशक राउतको साथमा उनी मोफसलका हलहरुमा पुगेर फिल्म हेर्ने दर्शकसँग भेट गरिरहेका छन् । शनिबार नेपालगञ्ज र आइतबार आफ्नो गृहजिल्ला दाङका हलहरु पुगेका उनले सोमबार धनगढीका दर्शकसँग भेट्दैछन् ।
‘पूजार सार्की’को कथा पलको काँधमा छैन । स्क्रिनमा पनि आर्यन र प्रदीप हाबी छन् । तर, यतिबेला पलको खटाई हेर्दा फिल्मलाई उनले आफ्नै काँधमा बोकेकोझैँ देखिन्छ । उनको यो दौडधुप निर्देशक राउतलाई हाता लिन रहेको चर्चा छ । अब फरक हिसाबले काम गर्न खोजिरहेका उनी फिल्म निर्माणको तयारीमा समेत छन् । र, त्यसको निर्देशनको प्रस्ताव उनले दिनेशलाई राखेका छन् ।
‘पूजार सार्की’ रिलिज अगाडिसम्म दिनेशले पलको फिल्म निर्देशन गर्ने सहमति जनाएका थिएनन् । तर, अब उनलाई नैतिक दबाब पर्ने देखिन्छ । किनकि, फिल्म रिलिज भएपछि उनले जसरी प्रचारमा काँध थापेर हिँडेका छन्, त्यो दिनेशसहितको टिमलाई ठूलो गुन हो । यसले गर्दा पनि उनलाई पलको फिल्म निर्देशन गर्न ठूलो दबाब थपिएको छ । र, पल पनि दिनेशकै भरोसामा देखिन्छन् ।