मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘गाउँ आएको बाटो’मा काम गर्दा आफ्नै समुदायलाई चिन्न पाएँ : दयाहाङ राई

फिल्मीखबर, काठमाडौं, 2024/06/03

अभिनेता दयाहाङ राईले आफ्नो करिअरमा ५० बढी फिल्ममा काम गरिसकेका छन् । त्यसमध्ये कुनैमा मगर त कुनैमा तामाङ र थारुको भूमिका निभाए । यही जेठ २५ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘गाउँ आएको बाटो’मा भने उनले पहिलोपटक आफ्नै समुदायको पात्र निर्वाह गरेका छन् । अर्थात् यसमा उनी राईको चरित्रमा छन् । फिल्मले उठाएको कथा पनि राई समुदायको हो ।

यो फिल्ममा काम गर्दा आफ्नै समुदायलाई भित्री तहबाट चिन्ने मौका पाएको दयाहाङको अनुभव छ । ‘मैले विभिन्न समुदायभित्रको कथाका पात्रहरु निर्वाह गरिरहँदा आफ्नै समुदायको कथा र पात्रमा काम गर्न पाएको थिइनँ । यसबाट त्यो अवसर पाएँ । र, आफ्नै समुदायलाई भित्री तहबाट चिन्ने अवसर पनि पाइयो । राई समुदाय संस्कृतिको हिसाबले एक छौं तर भाषा विविध छ,’ उनले भने ।

 

dayahang rai and gau aayeko bato - Copy


‘गाउँ आएको बाटो’ले आफूलाई धेरै कुरा सिकाएको उनको बुझाई छ । ‘विभिन्न समुदाय, भूगोल, मानिसको मनोविज्ञानलाई कसरी हेर्ने भन्ने कुरा सिक्न पाएँ । एउटा अभिनेताको हिसाबले चरित्र निर्माण गर्दा पात्रहरुको मनोविज्ञानभित्र कसरी छिर्ने र त्यसको तह-तहमा कसरी पुग्ने भन्ने पनि सिकेँ,’ उनी थप्छन्, ‘मैले चरित्र निर्माणमा गरिरहेको शैलीलाई ‘सिफ्ट’ गर्ने अवसर पनि फिल्ममा पाएँ ।’

फिल्मले नेपालमा कुन मोडलको विकास चाहिएको हो भनेर समेत बहस गराउन सक्ने उनको विश्वास छ । ‘बाटो र गाडी आएपछि गाउँमा विकास त आयो तर त्यसले स्थानीय स्रोत साधान पनि खाइदिन्छ । ज्ञान-सिप मेटाइदिन्छ । हामीलाई कुन मोडलको विकास चाहिएको हो ? फिल्मले यसतर्फ बहस गराउनसक्छ । विकासलाई कसरी सम्बोधन गर्ने भन्ने तहमा यसले कुरा गर्नेछ,’ उनले भने ।

दयाहाङ ‘गाउँ आएको बाटो’लाई आफूले गर्व गर्न सक्ने फिल्मको रुपमा अर्थ्याउँछन् । उनी भन्छन्, ‘मैले काम गरेकामध्ये गर्वसाथ नाम लिन सक्ने फिल्ममा ‘गाउँ आएको बाटो’ पर्छ । यो ठोकुवाको साथ भन्न र लेखेर राख्न सक्छु ।’ यसमा उनले बाँसको चोयाबाट चित्रा, भकारी, मान्द्रा, थुन्से, टाट्ना बनाउने भूमिका निभाएका छन् । जसको पेशा गाउँमा सडक र गाडी आएपछि संकटमा पर्छ ।