हिरोको परम्परागत मानकमा अटाउँछन्, कबीर खड्का । उनको लुक्स चकलेटी छ । कद अग्लो छ । यसैले त लभस्टोरी फिल्ममा उनी रोजाईमा परिरहेका छन् । करिब ७ वर्षअघि प्रदर्शनमा आएको ‘लम्फू’बाट डेब्यु गरेका उनी यसपछि ‘गुञ्जन’ र ‘एक भगवत् र एक गीता’मा देखिए । अब उनको चौंथो फिल्म ‘लण्डन टू पेरिस’ यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।
ट्रेलर हेर्दा कबीरको पात्रले साथीलाई प्रेम गर्न सिकाइरहेको देखिन्छ । यसैले उनी आफ्नो पात्रलाई ‘लभ गुरु’ भन्न रुचाउँछन् । उनी भन्छन्, ‘फिल्ममा म निश्चल खड्का (मुख्य अभिनेता)को मिल्ने साथी हुँ । एकहिसाबले उसको ‘लभ गुरु’ हुँ । यो फिल्म गर्दा मैले पनि डेब्यु नै गरिरहेको छु भन्ने महसुस भएको थियो ।’ फिल्मको चरित्र आफ्नो लागि एकदमै चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।
‘चरित्रको ‘एसेन्स’, ‘डिक्सन’हरुलाई समात्न मलाई चुनौतीपूर्ण नै भयो । त्यसले गर्दा अहिलेसम्म गरेकामध्ये चुनौतीपूर्ण चरित्र लाग्यो,’ विदेशमा बोल्ने लवज समात्न गाह्रो भएको अनुभव सुनाउँदै उनी भन्छन्, ‘मेरो लागि यो नयाँ अनुभव थियो । मलाई भित्रैबाट गाह्रो लागेको चरित्र थियो । विशेषगरी लवजमा काम गाह्रो भएको थियो । बाहिर बस्ने मान्छेको लवज अर्कै हुन्छ, त्यो समात्न गाह्रो भयो ।’
कबीरलाई फिल्ममा निभाएको चरित्र आफ्नो स्वभावसँँग पनि केही मिल्छ भन्ने लाग्छ । ‘म अन्तर्मुखी स्वभावको छु तर पनि अरुलाई सल्लाह-सुझाव दिन रुचाउँछु । यसैले मैले चरित्रको हिसाबले भन्दा पनि आफैं बनेर सल्लाह-सुझाव दिइरहेको हुन्थेँ । मेरो चरित्रमा ‘युथ’ले ‘रिलेट’ गर्नुहुन्छ भन्ने लाग्छ,’ उनले भने । फिल्ममा प्रेम र मित्रताको कथा रहेकाले युवापुस्तालाई मनपर्ने उनको विश्वास छ ।
पहिलो फिल्म ‘लम्फू’ गरेपछि उनलाई आफू टुहुरोजस्तो महसुस भएको रहेछ । किनकि, उनलाई फिल्म क्षेत्रमा जन्माउने मेकरहरु त्यसपछि सक्रिय भएनन् । उनी भन्छन्, ‘त्यो बेला मैले राम्रो मेकरको फिल्ममा आबद्ध हुन पाएँ । तर, त्यसपछि टुहुरो बालकजस्तो भएँ । उहाँहरु फिल्म क्षेत्रमा सक्रिय नहुँदा मलाई अलि गाह्रो भएको थियो । तर पनि आफैं तातेताते गर्दै यहाँसम्म आइपुगेको छु ।’