गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल ४’को सेमिफाइनलबाट बाहिरिएका भुटानी मुलका गायक रिहान गिरी अब फिल्मको हिरो बन्ने भएका छन् । उनले फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखलाबाट अभिनय करिअर सुरु गर्न लागेका हुन् । यसअघि निर्देशक दीवाकर भट्टराईको फिल्म ‘मायावी’बाट उनले डेब्यु गर्ने निश्चित भएको थियो । तर, भिसाको समस्याले गर्दा उनले यो फिल्म छाड्नु पर्यो ।
रिहानलाई फिल्मको प्रमुख पात्रमध्ये एक सशक्त भूमिकामा अनुबन्ध गरिएको निर्देशक सशान कँडेलले बताए । फिल्मको स्क्रिप्टले नै उनलाई मागेको निर्देशक कँडेलको दाबी छ । ‘हामीले लामो समयदेखि ‘मानव’ नामक पात्रको खोजीमा थियौँ । त्यसमा एकदमै ‘फ्रेस’ महसुस हुने कलाकारको आवश्यकता देख्यौँ । रिहान फिल्मको पात्रमा ‘फिट’ हुने देखेपछि अनुबन्ध गरेका हौं,’ उनले भने ।
‘होस्टेल ३’मा रिहानसँगै पदम तामाङ र सिम्रन पन्तको पनि प्रवेश भएको छ । सिम्रन अभिनयमा अनुभवी छिन् । ‘प्रेमगञ्ज’, ‘चित्रा’, ‘अगस्त्य’सहित उनले आधा दर्जन बढी फिल्ममा काम गरिसकेकी छन् । पदम भने सिक्किमका चर्चित कमेडी कलाकार हुन्, जो नेपालमा पनि लोकप्रिय छन् । फिल्ममा मंगोलियन पात्रको जरुरत परेपछि पदमलाई लिइएको निर्देशक कँडेलको जानकारी दिए ।
फिल्ममा यसअघि कुल ब्वायको रुपमा परिचित पारस बम ठकुरी अनुबन्ध भइसकेका छन् । फिल्मले होस्टेलमा बसेर अध्ययन गर्ने युवापुस्ताको कथा भन्नेछ । माधव शर्माको लेखन रहेको फिल्मको कथा निर्देशक कँडेल स्वयंको हो । फिल्मका निर्मातामा शिशिर ज्ञवाली छन् भने कार्यकारी निर्माता शंकर कोइराला हुन् । सह-निर्मातामा भने सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् ।