कुनै बेलाको चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’मा ‘जिरे’को भूमिकामा अभिनय गरेर बाल्यकालमै इशान राउतले ठूलै चर्चा कमाए । उनको चिनारी नै ‘जिरे’को रुपमा बनेको थियो । पछि अध्ययनले गर्दा उनी सिरियलमा देखिन छाडे । त्यसपछि उनको अभिनय यात्रा टुट्यो । अब भने उनी ठूलो भैसकेका छन् । र, अभिनयलाई निरन्तरता दिने योजनासहित उनले फिल्ममा डेब्यु गरेका छन् ।
बसन्त निरौलाले निर्देशन सम्हालेको फिल्म ‘ज्वाइँ साब’मा इशान महत्त्वपूर्ण भूमिकामा देखिन लागेका हुन् । यसमा हास्य अभिनेता जितु नेपाल मुख्य भूमिकामा छन् । ‘जिरे खुर्सानी’मा जितुसँग इशानको नोकझोंक दर्शकहरुले रुचाएका थिए । अब एकपटक फेरि यो जोडीलाई एकसाथ हेर्न रोचक हुने देखिन्छ । फिल्ममा इशानको कस्तो भूमिका छ, त्यसबारेमा भने जानकारी गराइएको छैन ।
यतिबेला मकवानपुरस्थित पर्यटकीय स्थल चित्लाङमा छायांकन भैरहेको फिल्ममा जितुको जोडी अभिनेत्री नीति शाहसँग बाँधिएको छ । नीतिको यो दोस्रो फिल्म हो । उनीहरुसहित रमेश वुढाथोकी, प्रकाश घिमिरे, वुद्दि तामाङ, हिमेश पन्त, निमा पाण्डे आदिको पनि फिल्ममा अभिनय रहेको छ । करिब २० दिन चित्लाङमा छायांकन गरेपछि निर्माण पक्ष सौराहा र इलाम जाने जनाइएको छ ।
राजकुमार पण्डितको प्रस्तुति रहेको फिल्मलाई तिहारमा रिलिजको तयारी गरिएको छ । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा लेखन रहेको छ भने शंकर धितालको पटकथा तथा संवाद छ । फिल्मलाई समसामयिक कथामा निर्माण गरिने निर्देशक निरौलाले जानकारी दिए ।