कोही व्यक्ति ‘लाइमलाइट’मा छ भने उनीहरुमाथि सबैभन्दा अगाडि फिल्मकर्मीहरुको आँखा पुग्छ । सामाजिक सञ्जालमा भाइरल भएका हुन् वा कुनै विशेष उपाधि जितेर चर्चामा आएका हुन्, उनीहरुमा मेकरहरुले हिरो/हिरोइन देख्न थाल्छन् । त्यसपछि फिल्म प्रस्तावको ओइरो नै लाग्छ । अभिनय क्षमताको आधारमा भन्दा पनि उनीहरुको लोकप्रियता ‘क्यास’ गर्न फिल्ममा लिने प्रवृति छ ।
यतिबेला सिक्किमका हाँस्य कलाकार पदम तामाङ पनि मेकरहरुको तानातानमा छन् । युट्युबमा कमेडी शैलीका भिडियो बनाएर चर्चामा आएका उनलाई फिल्म प्रस्ताव ओइरिरहेको छ । उनले एक सातामै दुईवटा फिल्म सम्झौता गरिसकेका छन् । मंगलबार फिल्म ‘होस्टेल ३’मा उनी आबद्ध भएको खबर बाहिरिएको थियो । अब अर्को फिल्म ‘मायाका रंगहरु’मा पनि उनी भित्रिएका छन् ।
केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्ध भइसकेका छन् । अब फिल्मका लागि मुख्य अभिनेत्रीको खोजी भइरहेको निर्देशक तामाङले बताए । काठमाडौं, इलाम तथा दार्जिलिङमा छायांकन हुने फिल्मको प्रस्तुतकर्तामा पुनम तामाङ र निर्मातामा आरबी थाङदेन छन् । आगामी भदौपछि फिल्मको छायांकन सुरु हुन सक्नेछ ।
फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल सह-निर्मातामा छन् । शीर्षकले नै फिल्म प्रेमकथामा आधारित भएर बन्न लागेको बुझ्न सकिन्छ ।