गत जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’को हलमा प्रभाव कम हुँदै गएको छ । मल्टीप्लेक्सहरुमा शोज र दर्शक घटिरहेका छन् । यसैबीच, अब यही शुक्रबार (जेठ २५ गते)बाट दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’ प्रदर्शनमा आउने तयारीमा छन् । यी दुवै फरक कथामा निर्माण भएकाले यसका लक्षित वर्ग पनि फरक छन् ।
दुवै फिल्मको मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ । शोज संख्याको आधारमा ‘गाउँ आएको बाटो’ अगाडि छ । यसले देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको आउटलेटमा बुधबार दिउँसोसम्म कूल ३८ शोज पाएको छ । फिल्मको चर्चाको हिसाबले यो शोज संख्या उल्लेख्य होइन । ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले केही शोज ‘होल्ड’ गरेकाले फिल्मले पर्याप्त शोज नपाएको देखिन्छ ।
त्यसैगरी, फिल्मले दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईमा ९ शोज, वान् सिनेमाज् (नयाँ बानेश्वर), एफक्युब, बिएसआर मुभिज, बिग मुभिजमा समान ३/३ शोज प्राप्त गरेको छ । अन्य केही हलमा भने बुकिङ खुल्न बाँकी नै छ । समग्रमा फिल्मले पहिलो दिन देशभर डेढ सय हाराहारी शोज पाउने देखिन्छ । यसमा अकुपेन्सी राम्रो भएको अवस्थामा फिल्मले शनिबारबाट शोज बढाउनेछ ।
त्यस्तै, ‘लण्डन टू पेरिस’लाई क्यूएफएक्सको आउटलेटमा कूल २९ शोज मिल्दा आईएनआईले ३ शोज, बिग मुभिज, वान् सिनेमाज्, एफएक्युब, बिएसआरले समान २/२ शोज बाँडेका छन् । केहीमा भने बुकिङ खुलिसकेको छैन । यो फिल्मले देशभर गरी एक सय हाराहारी शोज पाउने देखिन्छ । यो सुखद् नै हो । अब ‘वर्ड अफ माउथ’ कस्तो आउँछ, त्यसले फिल्मको भविष्य निर्धारण गर्नेछ ।
नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ । यसमा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको ‘लण्डन टू पेरिस’ भने ‘ट्राभल-लभस्टोरी’ हो । यसमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन् ।