नेपालको चलचित्र जाँच समिति (सेन्सर बोर्ड) उदार नभएको आरोप अक्सर लाग्ने गर्छ । कहिले दृश्य त कहिले फिल्मको शीर्षकमै आपत्ति जनाउँदै बोर्डले निर्मातालाई अनेक झमेला दिने गरेको छ । यसैले त बेला बखतमा बोर्ड नै खारेजीको आवाज उठ्ने गर्छ । तर, पछिल्लो समय बोर्ड उदार हुन थालेको देखिन्छ । बोर्डमा रोकिन सक्ने आशंका गरिएका फिल्म सहजै पार लागिरहेका छन् ।
भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘लण्डन टू पेरिस’को टिजर आएपछि सेन्सर बोर्डले केही दृश्य काट्न लगाएर ‘एडल्ट सर्टिफिकेट’ दिनसक्ने आँकलन गरिएको थियो । किनकि, टिजरमा अभिनेता निश्चल खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको केही बोल्ड दृश्य छन् । तर, सेन्सरबाट फिल्म पार लागेको छ । अर्थात् कुनै दृश्यमा कैंची चलेन । न त ‘एडल्ट’ प्रमाणपत्र नै पायो ।
फिल्मलाई बोर्डले सबै उमेरका लागि हेर्न मिल्ने गरी यूनिभर्सल प्रमाणपत्र दिएको छ । यसलाई लिएर निर्देशक घनश्याम लामिछाने खुसी व्यक्त गरे । ‘मलाई सेन्सरमा फिल्म रोकिन्छ भन्ने डर चाहिँ थिएन । किनकि, किस सिन कथाअनुसार नै छ । भल्गर लाग्दैन । अस्वभाविक छैन । त्यो फिल्मको ‘टर्निङ पोइन्ट’ हो । बोर्डका पदाधिकारीहरुले पनि त्यो बुझिदिँदा निकै खुसी लाग्यो,’ उनले भने ।
फिल्मले शहरी कथालाई उठाएको छ । त्यसमा पनि विदेशमा बस्ने युवापुस्ताको कथा छ । फिल्ममा साम्राज्ञी र निश्चलसहित कबीर खड्का र गरिमा शर्माको पनि अभिनय छ । निश्चल र गरिमाको यो डेब्यु फिल्म हो । यसैले उनीहरुलाई ‘लण्डन टू पेरिस’ चल्नैपर्ने दबाब छ । मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ला भइसकेको फिल्मको बिहीबार साँझ काठमाडौंमा प्रिमियरको आयोजना गरिएको छ ।