सुपरस्टार विजय सेतुपतिले साउथमा मात्र होइन बलिउडमा पनि आफ्नो पकड बनाइसकेका छन् । पछिल्लो समय उनले लगातार बलिउड फिल्म गरिरहेका छन् । पछिल्लोपटक उनी अभिनेता शाहरुख खानसँग फिल्म ‘जवान’मा भिलेनको भूमिकामा देखिएका थिए । यसपछि कटरीना कैफसँग अर्को फिल्म ‘मेरी क्रिसमस’ देखिए । यतिबेला भने विजय एउटा विषयले चर्चामा आएका छन् ।
सन् २०२२ मा प्रदर्शन भएको तमिल भाषाको फिल्म ‘डिएसपी’मा उनको जोडी अभिनेत्री कृति शेट्टीसँग बाँध्ने तयारीमा निर्माण टिम थियो । तर, उनले ठाडै अस्वीकार गरिदिए । उनले कृतिसँग काम गर्न नमान्नुको कारण विशेष छ । कृति छोरीसरहकी भएको भन्दै उनले फिल्ममा रोमान्स गर्न अस्वीकार गरेका थिए । यसपछि फिल्ममा उनको जोडी अभिनेत्री अनुकृति वाससँग बाँधिएको थियो ।
यसबारेमा विजय भन्छन्, ‘मैले ‘डिएसपी’मा कृतिको अपोजिट काम गर्न मानिनँ । किनकि, मैले ‘उप्पेन्ना’ (२०२१)मा उनको पिताको भूमिका निभाइसकेको थिएँ । ‘उप्पेन्ना’मा एक सिनलाई लिएर कृति निकै ‘नर्भस’ भएकी थिइन् । त्यसबेला मैले उनलाई भनेको थिएँ कि छायांकनभरि मलाई आफ्नै पिता मानेर काम गर । उनी मेरो छोरीभन्दा थोरैले मात्र ठूली छिन् । यसैलै मैले जोडी बन्न मानिनँ ।’
उनले करिअरको सुरुवाती समयमा आफूमाथि ‘बडी सेमिङ’ (शरीरलाई हियाउने) भएको समेत खुलासा गरेका छन् । ‘मलाई निकै ‘बडी सेमिङ’ गरिन्थ्यो । तर, एउटा राम्रो कुरा के छ भने तपाईं जस्तो हुनुहुन्छ, मानिसले त्यस्तै रुचाउँछन् । आज मलाई दर्शकले स्वीकार्नुभएको छ । यो मेरो लागि ठूलो आशीर्वाद हो । मलाई विश्वास नै थिएन कि मलाई यतिधेरै प्रेम मिल्छ भनेर,’ विजय भन्छन् ।