‘डायस्पोरा’ (विदेश)मा बस्ने नेपाली युवापुस्ताको प्रेमकथामा आधारित भएर बनेको फिल्म ‘लण्डन टू पेरिस’ शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा भने बिहीबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको प्रिमियर राखिएको थियो । जहाँ सेलिब्रेटीहरुको खासै उल्लेख्य उपस्थिति देखिएन । यद्यपि, प्रिमियरमा सहभागी अधिकांशले प्रशंसामा शब्द खर्चिए ।
निर्देशक तथा निर्माता शोभित बस्नेतले फिल्म हेर्दा मज्जा आएको धारणा व्यक्त गरे । ‘नेपाली फिल्म राम्रो बन्न थालेको छ भन्ने अर्को उदाहरण हो, ‘लण्डन टू पेरिस’ । फिल्ममा एकदमै मिहिनेत गरिएको छ । हेर्दा मज्जा आयो । राम्रो लाग्यो । रमाइलो लाग्यो । यति मिहिनेत गरेर बनाइएको फिल्म राम्ररी चलोस् भन्न चाहन्छु,’ उनले भने । युवापुस्ताका दर्शकलाई फिल्म मनपर्ने उनको विश्वास छ ।
प्रिमियरमा निर्देशक बस्नेतकी छोरी सलिना बस्नेत पनि उपस्थित थिइन् । फिल्मका अभिनेता निश्चल खड्का उनका साथी रहेछन् । उनले निश्चलको तारिफ गर्दै भनिन्, ‘म निश्चलका लागि आएको हुँ । हामी अष्ट्रेलियादेखिको साथी हौं । र, उसको अभिनयले निरास बनाएन । साम्राज्ञीसँग राम्रो केमेस्ट्री देखिएको छ ।’ सलिनाले इन्स्टाग्राम स्टोरीमार्फत् निश्चललाई ‘फ्युचर स्टार’ समेत भनेकी छन् ।
फिल्मका लेखक प्रदीप भारद्वाजले स्क्रिप्ट अनुसार नै फिल्म बनेकोमा खुसी व्यक्त गरे । ‘स्क्रिप्टमा लेखिएकै कुरा स्क्रिनमा आएको छ । प्राविधिक रुपमा के कस्तो छ, त्यो अर्को पाटो होला । तर, लेखिएको कुरा धेरै आएको छ । त्यसमा म खुसी छु,’ उनले भने । निर्देशक घनश्याम लामिछानेले अघिल्ला फिल्ममाझैँ यसपटक पनि आफूले इमानदारिताका साथ कथा भन्ने प्रयास गरेको बताए ।
प्रिमियरमा सबैभन्दा बढी प्रशंसा निश्चलको भयो । उनको भ्वाइस र डाइलग डेलिभरी धेरैले रुचाए । आफ्नो प्रशंसा हुँदा उनी खुसी देखिए । पर्दामा आफूलाई हेर्दा भने उनी भावुक भएका रहेछन् । उनले भने, ‘मलाई सानैदेखि यसरी नै पर्दामा आफूलाई हेर्न मन लाग्थ्यो । पहिलोपटक आफैंलाई पर्दामा हेर्दा गहभरी भएँ । मलाई अझ खत्रा फिल्ममा काम गर्न मन छ । अझ राम्रो गर्न मन छ ।’
यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी गरिमा शर्माले दर्शक भएर फिल्म हेरेको अनुभव सुनाइन् । आफ्नो पात्रजस्तो नहुन पनि उनले सुझाव दिइन् । ‘म छोरी मान्छेलाई दीपा (उनले निभाएको पात्र) जस्तो ‘डम’ चाहिँ नहुनु भनेर सुझाव दिन चाहन्छु । र, दर्शकको रुपमा फिल्म हेर्दा मलाई रमाइलो लाग्यो । मध्यान्तर भएकै थाहा भएन । फिल्मले मज्जाले बाँधेर राख्यो,’ उनले भनिन् ।
फिल्मका अर्का मुख्य अभिनेता कबीर खड्कालाई पनि फिल्म एकदमै मनपरेछ । उनले भने, ‘मैले आज कलाकार नभइ दर्शकको रुपमा फिल्म हेर्दा पूर्ण मनोरञ्जन लिएँ । म फिल्मका सबै पात्रहरुमा समाहित भएँ । धेरैपछि राम्रो फिल्म हेर्न पाएको अनुभूति भयो ।’ फिल्ममा उनले निश्चलको साथीको भूमिका निर्वाह गरेका छन् । उनको लुक्सले युवा दर्शकहरुलाई आकर्षित गर्नसक्ने देखिन्छ ।
प्रिमियरमा आकर्षणको केन्द्रविन्दू भने फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बनेकी थिइन् । कालो रंगको वानपिसमा बोल्ड अवतारमा उपस्थित भएकी उनले प्रिमियरमा सहभागी अधिकांश अतिथिको ध्यान आफूतिर आकर्षित गरेकी थिइन् । त्यस्तै, लेहेंगा पुगेकी गरिमाको पनि सुन्दरता झल्किएको थियो । निश्चल र कबीर भने कालो रंगको सुटबुटमा आकर्षक बनेर पुगेका थिए ।