यतिबेला हलमा प्रदर्शन भैरहेको फिल्म ‘फर्की फर्की’ले सुखद नतिजा प्राप्त गरेसँगै अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’को तयारीमा जुटिसकेका छन् । यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, फिल्ममा अर्की शर्मा अभिनेत्रीको पनि प्रवेश भएको छ । ती अभिनेत्री आँचल शर्मा हुन् ।
बिहीबार साँझ फिल्मका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै ‘थ्री ए’ निश्चित भएको जनाएका थिए । तर, उनले दोस्रो अभिनेत्रीको नाम भने सार्वजनिक गरेका थिएनन् । यद्यपि, दोस्रो ‘ए’ आँचल हुनसक्ने आँकलन धेरैको थियो । अन्ततः उनी स्वयंले फिल्मीखबरसँग कुराकानी गर्दै फिल्ममा आफू आबद्ध भएको पुष्टि गरेकी छन् । उनले भनेकी छन्, ‘हो, म ‘जेरी अन टप’ गर्दैछु ।’
आँचलको ‘लाइनअप’मा अहिले ‘पिताम्बर’, ‘रानीमहल’, ‘दुःखी आत्मा’ जस्ता फिल्म पनि छन् । उनले सुरुमा ‘जेरी अन टप’मा काम गर्ने जानकारी गराइन् । यसपछि भदौबाट ‘पिताम्बर’को छायांकनमा जोडिने उनको भनाई छ । यसमा भने उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । यसैगरी, ‘दुःखी आत्मा’मा अभिनेता दयाहाङ राईको जोडीको रुपमा प्रस्तुत हुने तयारीमा उनी छिन् ।
‘फर्की फर्की’का सुयोग गुरुङको निर्देशनमा बन्ने ‘जेरी अन टप’लाई पहिला हेमराज विसीले निर्देशन गर्ने फाइनल थियो । तर, उनी अमेरिका गएपछि फिल्ममा सुयोग भित्रिएका हुन् । सन् २०१४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’को दोस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको फिल्मलाई नेपाल र अष्ट्रेलियामा खिचिने जानकारी प्राप्त छ । र, यसपालिको तिहारमा प्रदर्शन गरिने चर्चा छ ।