‘नुमाफुङ’ जस्तो कालजयी फिल्मका निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’ले घरेलु बक्स अफिसमा सुखद सुरुवात छ । फिल्मको टिकट अनलाइन बुकिङभन्दा काउन्टरबाट बढी बिक्री भइरहेको छ । बिहानी शोज अपेक्षाकृत नभए पनि दिउँसोबाट फिल्मले गति पक्डेको देखिन्छ । काठमाडौंसँगै पूर्वका केही ‘मेजर’ हलहरुमा फिल्मको अकुपेन्सी उच्च देखिएको छ ।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले उपलब्ध गराएको केही शोजमा दिउँसोबाट फिल्मले ५० प्रतिशत अकुपेन्सी नघाएको छ । साँझ थप बढ्ने निश्चित देखिन्छ । मध्यान्ह ४ बजेपछि क्यूएफएक्स अन्तर्गत सिभिल, छायाँ र लबिममा गरी तीनवटा शोज ‘सोल्ड आउट’ भइसकेका छन् । बिग मुभिज, वान् सिनेमाज्, एफक्यूब जस्ता हलमा पनि साँझका शोज दिउँसोबाटै भरिन थालेका छन् ।
त्यसैगरी, पूर्वी जिल्लाका हलहरुमा पनि फिल्मले उल्लेख्य दर्शक पाइरहेको छ । धरानस्थित फ्रेण्डस् सिनेमाजले शुक्रबारका लागि बाँडेको ६ वटा शोजमा बिहानैदेखि दर्शकको चाप उच्च छ भने साँझतिरका शोज हाउसफुल हुने चरणमा छन् । पोखरा, विर्तामोड, विराटनगर, इटहरी जस्ता सहरमा पनि फिल्मको अकुपेन्सी राम्रो छ । यसरी हेर्दा फिल्मको ‘ओपनिङ’ उत्साहजनक हुने देखिन्छ ।
फिल्मले दर्शकको राम्रो साथ पाएपछि सुपरस्टार दयाहाङ राईसहितको टिम काठमाडौंका विभिन्न हलमा पुगिरहेको छ । फिल्मको कथामा दर्शक ‘कनेक्ट’ भएको पाउँदा आनन्द महसुस भएको दयाहाङले बताएका छन् । ‘फिल्ममार्फत जे भन्न खोजेका थियौं, त्यो कुरा दर्शकले ‘कनेक्ट’ गर्नुभएको छ । सोच्न बाध्य बनायो भन्नुभएको छ । यसले आनन्द महसुस भएको छ,’ उनी प्रफुलित देखिए ।
करिब २४ वर्षपछि निर्देशक सुब्बाको फिल्म हलमा लागेको हो । र, पहिलो दिन नै फिल्मले दर्शकको राम्रो साथ पाउँदा उनी खुसी भावमा देखिए । ‘फिल्मलाई दर्शकले मनपराइदिँदा मलाई एकदमै खुसी लागेको छ,’ उनी भन्छन्, ‘काठमाडौंसहित पूर्व र पश्चिमका सहरहरुबाट पनि फिल्मले एकदमै राम्रो गरिरहेको भन्ने खबर आइरहेको छ । यसले हामीलाई ठूलो उत्साह र हौसला थपेको छ ।’
फिल्मले पूर्वी जिल्लाको भोजपुरको एउटा गाउँको कथा भन्छ, जहाँ भर्खर मात्र सडक र गाडी आइपुगेको छ । त्यसपछि गाउँमा के परिवर्तन आउँछ र त्यसले के लिएर जान्छ भन्ने कथालाई फिल्मले उठाएको छ । साथै, बाबु-छोराबीचको सम्बन्धको कथालाई पनि बुनिएको छ । फिल्मले शुक्रबार गरेको व्यापार हेर्दा शनिबार घरेलु बक्स अफिसमा उछाल कायम गर्नसक्ने आँकलन गरिएको छ ।