यसपटकको भारतीय लोकसभा चुनावमा कलाकारहरुको प्रदर्शन पनि जबर्जस्त रह्यो । शत्रुघ्न सिन्हा, अरुण गोविल, हेमा मालिनी, कंगना रनावत, रवि किशन जस्ता कलाकारहरुले लोकसभा सिट जित्न सफल हुँदा विधान सभामा तेलुगू सुपरस्टार पवन कल्याणले ठूलो जीत हासिल गरे । उनले त चुनाव जिते नै, उनी प्रमुख रहेको जनसेना पार्टीले पनि राज्य विधानसभामा बुलन्द प्रदर्शन गर्यो ।
सन् २००८ मा उनका दाई तथा तेलुगू सुपरस्टार चिरञ्जीवीले प्रजा राज्यम पार्टी बनाएका थिए । यसको युवा संगठन ‘युवाराज्यम’को अध्यक्षको जिम्मेवारी पवनलाई दिइएको थियो । तर, सन् २०११ मा चिरञ्जीवीले पार्टीलाई कांग्रेसमा गाभे । यो निर्णयप्रति सांकेतिक विरोध जनाउँदै पवनले राजनीतिबाट विश्राम लिएका थिए । तर, सन् २०१४ मा उनले आफू स्वयं प्रमुख भएर जनसेना पार्टी बनाए ।
सन् २०१९ मा आन्ध्र प्रदेशको विधानसभामा उनको पार्टी १४० सिटमा लडेको थियो । तर, एउटा मात्रै सीट जित्यो । उनी आफैं पनि पराजित भए । यद्यपि, पराजयका बावजूद पनि उनले आफ्नै हिसाबले राजनीतिलाई अगाडि बढाए । र, २०२० मा उनले लोकसभा र विधानसभा चुनावका लागि भाजपा (बीजेपी)सँग गठबन्धन गरे । यो गठबन्धनबाट पवनले राजनीतिमा ठूलो छलाङ मारेका छन् ।
राज्य विधानसभामा पवनको पार्टीले २१ वटा सिट र लोकसभातर्फ २ वटा सिट जितेको छ । आन्ध्र प्रदेश विधानसभामा उनको पार्टी दोस्रो ठूलो पार्टी समेत बनेको छ । र, उनले पनि पिथापुरमबाट ठूलो मतान्तरसहित विधानसभा चुनावमा जीत हासिल गरेका छन् । उनले चुनाव जित्नुमा फिल्मबाट बनाएको छवि महत्त्वपूर्ण मानिएको छ । विशेषगरी युवापुस्ताको मत उनलाई धेरै झरेको बताइन्छ ।
तेलुगू इन्डस्ट्रीमा पवनको अग्लो नाम छ । उनका ‘खुशी’, ‘गब्बर सिंह’, ‘भीमला नायक’ जस्ता फिल्म सफल छन् । अब उनको नयाँ फिल्म ‘ओजी’ आगामी सेप्टेम्बर २७ मा रिलिजको तयारीमा छ भने अर्को फिल्म ‘उस्ताद भगत सिंह’ पनि प्रदर्शनको पखाईमा छ । सम्भवतः अर्को वर्ष उनले फिल्म ‘हरि हर वीर मल्लू’मा काम गर्नेछन् । तेलुगू इन्डस्ट्रीमा पवन ‘पावर स्टार’को रुपमा परिचित छन् ।