मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६० वर्ष लागे राजेश हमाल, बूढानीलकण्ठ मन्दिरमा गरे पूजापाठ

फिल्मीखबर, काठमाडौं, 2024/06/09

नेपाली फिल्मका सर्वाधिक सफल अभिनेता राजेश हमाल ६०औं वसन्तमा टेकेका छन् । २०२१ साल जेठ २७ गते पाल्पा जिल्लाको तानसेनमा जन्मिएका उनले आफ्नो जन्मदिनको अवसरमा आइतबार बिहान पत्नी मधु भट्टराईको साथमा बूढानीलकण्ठ मन्दिरमा वैदिक विधिअनुसार पूजापाठ गरेका छन् । उनले पूजापाठ गरेका तस्वीरहरु फेसबुकमा सेअर गर्दै ‘जन्मदिन’ भनेर लेखेका छन् ।

 

Rajesh Hamal


नेपाली फिल्ममा गर्विलो छवि बनाएका हमालले आफ्नो करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । झण्डै तीन दशक नेपाली फिल्मलाई काँध हालेर स्टारडमको मानक खडा गरेका हमालको त्यसबेला कुन हदसम्म जगजगी थियो भने उनको अनुहार पोस्टरमा राखेकै भरमा मात्रै पनि फिल्म चल्थे । धेरै नेपाली निर्माताले उनलाई फिल्म खेलाएरै लोभलाग्दो आर्थिक हैसियत बनाए ।

जुन समयमा हमालले नेपाली फिल्ममा प्रवेश गर्ने निर्णय गरेका थिए, त्यसबेला वर्षमा एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्म क्षेत्रमा करिअर खोज्नु भनेको मुर्खता मानिथ्यो । यो क्षेत्रमा कसैले भविष्य नै देखेका थिएनन् । त्यही अन्योलताका बीच फिल्म क्षेत्रमा प्रवेशमा गरेका उनी तीन दशकमा नेपाली फिल्मका सर्वाधिक लोकप्रिय अभिनेता मात्र बनेनन्, ‘हिरो’को पर्याय नै बन्न सफल भए ।

हमालको करिअरको सुरुवात भने मोडलिङबाट भएको थियो । दिल्ली विश्वविद्यालयमा अध्ययन गर्दा उनले त्यहाँ आयोजना भएको एक फेसन शोमा भाग लिएका थिए । त्यसपछि नेपालका केही फेसन शोमा सहभागी भए । उनी आबद्ध भएको पहिलो फिल्म भने ‘भाग्यरेखा’ थियो । तर, पछि उनी यो फिल्मबाट बाहिरिनु पर्‍यो । र, २०४६ सालमा फिल्म ‘युगदेखि युगसम्म’बाट उनले डेब्यु गरे ।

‘देउता’, ‘शंकर’, ‘सडक’, ‘प्रतिज्ञा’, ‘ज्वाला’, ‘पृथ्वी’, ‘भिष्म प्रतीज्ञा’, ‘अल्लारे’ जस्ता फिल्मबाट ‘स्टारडम’को उचाइँ बढाएका उनलाई करिअरको उत्कर्षमा रहँदा फिल्मको संख्यात्मक वृद्धिमा मात्र जोड दिएको टिप्पणी अझै पनि हुने गर्छ । किनकि, उनले अभिनय गरेका फिल्ममध्ये सम्झनलायक थोरै मात्र छन् । त्यसमध्येमा ‘बसन्ती’ र ‘देउता’ पर्दछन् । तर, उनका धेरै फिल्म सफल भने छन् ।

 

Rajesh Hamal


फिल्ममा काम गर्ने क्रममा धेरै अभिनेत्रीसँग उनको नाम जोडिएको थियो । तर, ५० वर्षको उमेरमा उनले प्रेमिका मधु भट्टराईलाई जीवनसाथी बनाए । विवाह नगर्दा कहिले विवाह गर्ने भन्ने प्रश्नले हैरान बनेका हमाल विगत केही वर्षयता भने पिता कहिले बन्ने भन्ने प्रश्नको सामना गरिरहेका छन् । तर, बच्चाको प्रश्नमा उनी एउटै कुरा दोहोर्‍याइरहन्छन्, ‘हाम्रो योजना नभएरै सन्तान नभएको हो ।’

अभिनेता हमाललाई भारतीय मिडियाहरुले बलिउड सुपरस्टार अमिताभ बच्चनसँग समेत दाँजेर समाचार बनाइरहेका हुन्छन् । सन् २०१९ मा आजतक मिडियाले हमालको चर्चा गर्दै लेखेको थियो, ‘राजेश हमाल नेपालका एक यस्ता सुपरस्टार हुन्, जसलाई त्यहाँ ‘महानायक’को उपाधि दिइएको छ । राजेशको ‘चार्म’ नेपालमा यस्तो छ, जुन भारतमा अमिताभ बच्चनजस्ता कलाकारहरुको छ ।’

कुनै समय वर्षमै १२/१५ वटासम्म फिल्ममा काम गरेका हमाल विगत ६/७ वर्षदेखि भने फिल्ममा देखिएका छैनन् । उनी अभिनीत पछिल्लो फिल्म ‘सकुन्तला’ थियो । यसपछि उनले केही फिल्म सम्झौता गरे पनि निर्माण हुन सकेनन् । यद्यपि, फिल्ममा काम नगरे पनि उनको व्यस्तता घटेको छैन । कहिले म्यूजिक भिडियो त कहिले देश/विदेशका कार्यक्रममा हमाललाई भ्याइनभ्याइ हुने गर्छ ।