‘तीनपाते’, ‘के माया लाग्छ र ?’ जस्ता चर्चित गीतको भिडियोमार्फत् निर्देशनमा जमेका नवीन चौहानले आफ्नो डेब्यु फिल्म ‘ऊनको स्वीटर’को छायांकन सुरु गरेका छन् । आइतबार पाँचथरस्थित साधुटारमा शुभमुहूर्तपछि छायांकन थालिएको हो । फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिँदैछन् । तर उनीहरु केही दिनपछि मात्र छायांकनमा जोडिनेछन् ।
अभिनेता एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बूलाई फिचर्ड गर्दै गीतबाट फिल्मको छायांकन थालिएको हो । केही दिन उनीहरुकै दृश्य खिचिनेछ । नृत्यमा पारंगत मानिने पारसले ‘ऊनको स्वीटर’बाट फिल्म अभिनयमा डेब्यु गरेका हुन् । उनले नृत्य गरेको फिल्म ‘ऐंचो पैंचो’को ‘काले केटाले’ गीत निकै चर्चित छ । नवीनकै निर्देशनमा बनेको ‘फुलथुंगे रानी’ गीतमा पनि उनले काम गरेका छन् ।
एक महिनाको छायांकन सेड्युल राखिएको फिल्ममा माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, अरुण पुन मगर, रुपेश लामा, प्रकाश बस्नेत, कवि राई, मिलन खत्री, भावना खपाङ्गी मगर, लक्ष्मी योङहाङ, इन्द्रनारायण आङदेम्बे लगायतको पनि अभिनय रहनेछ । निर्देशक चौहान स्वयंको लेखन रहेको फिल्ममा सुरज कटुवालको सह-लेखन छ । चिन्तनराज भण्डारीले फिल्म खिचिरहेका छन् ।
अघिल्लो वर्षको भ्यालेन्टाइन डेको अवसर पारेर फिल्मको कथासार बुझाउने ‘फूल’ गीत सार्वजनिक गरिएको थियो । गायक सुजन चापागाईंको स्वर तथा संगीत र हर्क साउदको शब्द रचना रहेको गीतलाई युट्युबमा ३ महिनामा ९० लाखभन्दा बढीले हेरिसकेका छन् । गीतले नै फिल्मलाई प्रतिक्षीत बनाएको छ । फिल्मलाई आगामी असोज वा कात्तिकमा प्रदर्शनमा ल्याउने लक्ष्य लिइएको छ ।