अभिनेता किशोर खतिवडालाई मुख्य भूमिकामा लिएर फिल्म ‘अष्ट्रेलियन दुल्हा’को छायांकन सुरु गरिएको छ । पूर्वी चितवनस्थित रत्ननगरको हरिहर मन्दिरमा आइतबार मुहूर्तपछि फिल्मको छायांकन थालिएको हो । एक महिनाको सेड्युलमा फिल्मको सम्पूर्ण छायांकन चितवन आसपासमा हुनेछ । फिल्मले अष्ट्रेलिया जान नक्कली विवाह गर्ने प्रवृतिप्रति व्यंग्य गर्ने शीर्षकबाट बुझ्न सकिन्छ ।
रेहान मियाको लेखन, निर्माण र निर्देशनमा बन्न लागेको फिल्ममा किशोरसँगै प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी, स्वेता श्रेष्ठ, अक्सा कोइराला (बाल कलाकार) लगायतको पनि अभिनय रहनेछ । फिल्मको प्रस्तुतकर्तामा कृष्णराज अर्याल रहेका छन् भने सह-निर्माताको रुपमा उमेश अधिकारी (आर्य) छन् ।
करुणा फिल्मस् र म्याङ्गो प्लेजरको ब्यानरमा निर्माण हुन लागेको फिल्मको गीतमा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत तथा रवि कोइरालाको छायांकन छ भने देव महर्जनको द्वन्द्व निर्देशन र किशोर चौधरीको नृत्य रहनेछ । निर्देशक मियाले फिल्मको स्क्रिप्टमा लेख्न मात्र ५ वर्ष लागेको बताएका छन् । फिल्मलाई यस वर्षको तिहारको छेकोमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।