मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’को हालचाल ?

फिल्मीखबर, काठमाडौं, 2024/06/10

एउटा मितिमा दुईवटा फिल्मसम्म नेपालको बजारले धान्न सक्ने अवस्था बनिसकेको छ । किनभने, यतिबेला देशभर मल्टीप्लेक्सको संख्या बढेको छ । जसले गर्दा शोज पर्याप्त मिल्छ । फिल्म अब्बल छ भने दर्शकको पनि अभाव हुँदैन । यही जेठ १० गते आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले यो पुष्टि गरिसकेका छन् । भिडन्तको बावजूद व्यापारमा दुईवटै फिल्म सशक्त देखिए ।

यसै साताबाट प्रदर्शनमा उत्रिएका दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’को अवस्था चाहिँ कस्तो छ त ? धेरैलाई चासो हुनसक्छ । फरक विषयमा बनेका दुवै फिल्मका लक्षित वर्ग पनि फरक छन् । ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ । मौलिक विषय रुचाउने दर्शक नेपालमा उल्लेख्य छन् । र, ‘लण्डन टू पेरिस’ले सहरको कथा बोल्छ । यस्तो विषय युवापुस्ताले रुचाउँछन् ।

 

gau aayeko bato and london to paris


के दुवैले आफ्नो लक्षित वर्गलाई हलसम्म ल्याउन सफल भए त ? यो मामलामा ‘गाउँ आएको बाटो’ केही हदसम्म सफल देखिएको छ । प्रदर्शनको पहिलो दिन फिल्मले देशभर प्राप्त शोजमा करिब ६० प्रतिशत अकुपेन्सी कायम गरेको थियो । शनिबारको विदामा यो अनुपात केही बढ्यो । आइतबारदेखि कामकाजी दिन सुरु हुँदा पनि साँझतिरका शोजमा फिल्मको अकुपेन्सी सुखद् देखिन्छ ।

‘गाउँ आएको बाटो’ हेर्ने दर्शक मिश्रित छन् । युवापुस्ता र पाको पुस्ता दुवै सराबरी देखिन्छन् । त्यसमा पनि समुदायगत दर्शक बढी छन् । फिल्मका निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईसहितका कलाकारले आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने भएकाले यो समुदायका संघसंस्था तथा व्यक्तिहरुले हरेक दिन विभिन्न सहरमा हल नै ‘बुक’ गरेर समेत फिल्म हेरिरहेका छन् ।

विशेषगरी फिल्मको व्यापार पूर्वतिर राम्रो छ । धरानस्थित ‘फ्रेन्ड्स सिनेमाज’ले प्रत्येक दिन ५/६ शोज उपलब्ध गराउँदा पनि दर्शक उल्लेख्य रहेको जानकारी प्राप्त छ । विर्तामोड, विराटनगर, इटहरी, पोखरा जस्ता सहरहरुमा पनि फिल्मको व्यापार राम्रो देखिन्छ । तथापि, निर्माताले कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छैनन् । तर, ‘विकेन्ड’मा १ करोड कमाएको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

‘लण्डन टू पेरिस’को अवस्था भने कमजोर छ । शुक्रबार र शनिबार नै अपेक्षाकृत दर्शक नपाउँदा प्रायः मल्टीप्लेक्सहरुले फिल्मको शोजमा भारी कटौती गरिरहेका छन् । टिजर/ट्रेलरले हाइप निर्माण गर्न नसक्नु र प्रचार पनि कमजोर हुँदा त्यसको असर फिल्मको व्यापारमा परेको देखिन्छ । यद्यपि, यो फिल्मबाट डेब्यु अभिनेता निश्चल खड्काले अभिनयमा निकै राम्रो सम्भावना देखाएका छन् ।