नेपाली फिल्ममा महिला निर्देशकहरुको उपस्थिति औंलामा गन्न सकिने मात्र छ । त्यसमा पनि एकाधले निरन्तर फिल्म बनाउँछन् । नभए धेरैले त पहिलो फिल्मपछि निर्देशनलाई अगाडि बढाउन पनि सकेका छैनन् । तर, नेपाली फिल्ममा सर्वाधिक सफल फिल्म दिने निर्देशकमा महिला पनि पर्छन् । त्यसमध्येको एक नाम हो, दीपाश्री निरौला । उनले सफलतामा ‘ह्याट्रिक’ नै गरिसकेकी छन् ।
लामो समय हाँस्य टेलिश्रृंखला ‘तीतो सत्य’मा काम गरेपछि ‘६ एकान ६’बाट फिल्म निर्माणमा होमिएकी उनले पहिलोपटक ‘छक्का पञ्जा’ निर्देशन गरेकी थिइन् । यो फिल्मले घरेलु बजारमा व्यापारिक रेकर्ड नै बनायो । यसपछि यसको अरु दुई श्रृंखला पनि उनले निर्देशन गरिन् । तीन फिल्मको सफलतापछि उनले सर्वाधिक सफल फिल्म दिने नेपाली महिला निर्देशनको कीर्तिमानी नै बनाइन् ।
‘छक्का पञ्जा ३’पछि भने दीपाश्रीको सक्रियता निर्माण र अभिनयमा मात्र देखियो । ‘छ माया छपक्कै’मा प्रस्तुतकर्ताको रुपमा थिइन् भने ‘छक्का पञ्जा ४’मा मुख्य भूमिका निभाइन् । अब भने उनी ५ वर्षपछि निर्देशनमा फर्किएकी छन् । यतिबेला उनको निर्देशनमा ‘छक्का पञ्जा ५’ तयार भइरहेको छ । फिल्मको ठूलो ‘ब्रान्ड भ्यालु’ रहेकोले यसले पनि व्यापारिक सफलता पाउने निश्चित प्रायः छ ।
दीपाश्रीको टिमलाई ‘कबड्डी ४’ले बक्स अफिसमा बनाएको २२ करोडको रेकर्ड तोड्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ । यसले गर्दा नै उनीहरुले ‘माग्ने राजा’ नाममा फिल्म बनाउने तयारीलाई तत्काल रोकेर ‘छक्का पञ्जा ५’ अगाडि सारेको चर्चा छ । आगामी दशैंको फूलपातीबाट प्रदर्शनमा आउने यो फिल्मले ‘कबड्डी ४’को रेकर्ड तोडेर नयाँ मानक बनाएको खण्डमा दीपाश्रीले इतिहास रच्नेछिन् ।