पछिल्लो समय बलिउडमा एकपछि अर्को गर्दै स्टारका फिल्म पिटिरहेका छन् । ‘टाइगर ३’, ‘फाइटर’, ‘बढे मियाँ छोटो मियाँ’ जस्ता ठूला ‘स्टार’का फिल्म अपेक्षाकृत चलेनन् । बरु बिना स्टार र कम बजेटका फिल्मले बक्स अफिसमा अप्रत्यासिक कमाई गरिरहेका छन् । ‘टुवेल्थ फेल’, ‘आर्टिकल ३७०’ जस्ता फिल्म सफल हुनुले बलिउडमा अब स्टारभन्दा पनि कन्टेन्ट बिक्छ भन्ने प्रमाणित गर्छ ।
यसैबीच, प्रचारसहित ३० करोडमा बनेको ‘मुन्ज्या’ नामक फिल्मको व्यापारले यतिबेला बलिउडलाई नै ‘सरप्राइज’ बनाएको छ । ४ करोड २१ लाखको सुखद् ओपनिङ गरेको फिल्मले सोमबार (हिजो)सम्म २४ करोड १५ लाख कमाईसकेको छ । साउथ अभिनेता सत्यराजबाहेक फिल्ममा नाम कहलिएका कोही कलाकार छैन । तर, यो फिल्मले बक्स अफिसमा सानदार प्रदर्शन गरिरहेको छ ।
‘मुन्ज्या’ले समीक्षा पनि राम्रो पाएको छ । टाइम्स अफ इन्डियाले ५ मा ३ रेटिङ दिँदा फिल्ममेयर र कोइमोइले समान साढे ३ रेटिङ दिएका छन् । फिल्मले दर्शकलाई डर र हाँसो दुवै दिने समीक्षाहरुमा उल्लेख छ । दर्शकले पनि फिल्मलाई रुचाइदिँदा कामकाजी दिनमा समेत व्यापार बलियो देखिएको छ । फिल्मले पहिलो हप्ता ४० करोडको आँकडा नघाउने प्रक्षेपण ट्रेड एनालिस्टहरुको छ ।
बिना स्टारको ‘मुन्ज्या’ले व्यापारमा बलियो पकड बनाउँदा अघिल्लो हप्ता (मे ३१) आएको अभिनेता राजकुमार राव र जाह्नवी कपूर अभिनीत फिल्म ‘मिस्टर एन्ड मिसेज माही’ भने हलमा दम तोड्ने अवस्थामा पुगेको छ । सोमबार फिल्मले एक करोड पनि कमाई गरेन । ४० करोडमा बनेको फिल्मले ११ दिनमा ३० करोड मात्र जोडेको छ । यसरी हेर्दा फिल्म फ्लप हुने लगभग निश्चित देखिन्छ ।