ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको फिल्म ‘बाटो : रोड टु डेथ’ यही शुक्रबार (जेठ ३२ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । तर, निर्माण टिमले फिल्मको प्रचारमा भने ध्यान दिएको छैन । यसको असर व्यापारमा पर्नसक्ने देखिन्छ । यद्यपि, निर्माण टिमले प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार ललितपुरस्थित लबिम मलमा प्रिमियर भने आयोजना गर्यो । जहाँ फिल्मलाई राम्रो तारिफ मिल्यो ।
विशेषगरी फिल्मको प्राविधिक पक्षको प्रशंसा भएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले प्राविधिक रुपमा फिल्म उत्कृष्ट बनेको बताए । उनले भने, ‘प्राविधिक रुपमा यो फिल्म उत्कृष्ट छ । सिनहरु एकदमै डरलाग्दो छ । थ्रिल मन पराउनेलाई यो फिल्म उपयुक्त छ ।’ अर्का निर्देशक दिनेश डिसीले फिल्ममा प्रयोग गरिएको ‘एफपीभी’ (ड्रोन रेसिङ) अद्भूत रहेको भन्दै फिल्म उत्कृष्ट बनेको बताए ।
कलाकार राजाराम पौडेलले पनि फिल्मको प्राविधिक पक्षको प्रशंसा गरे । ‘अहिलेसम्म नेपालमा बनेका फिल्ममध्ये यो एकदमै नयाँ जनराको छ,’ उनी भने, ‘यो फिल्म टेक्निकली रुपमा अब्बल छ । र, निर्देशकले हरेक कलाकारबाट निचोरेर काम निकाल्नुभएको छ ।’ त्यस्तै, अभिनेता दिव्यदेवले फिल्ममा निर्देशकले बेग्लै संसार निर्माण गरेको बताउँदै दर्शकहरुलाई मनपर्ने विश्वास व्यक्त गरे ।
नेपालीसहित तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यो फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूलाई उत्साह थपेको बताए । उनले भने, ‘नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना हो । आजकाल फिल्ममेकरभन्दा पनि दर्शक निकै अगाडि हुनुहुन्छ । त्यसकारण पनि हामीले फिल्म उत्कृष्ट बनाउनुपर्छ ।’
मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको फिल्मका निर्माता चन्दन झा हुन् । दक्षिण भारतीय फिल्मका शरण ऋषिले छायांकन गरेको यो फिल्म करिब २ वर्ष अगाडि नै तयार भइसकेको थियो । फिल्मको प्राविधिक काम धेरैजसो दक्षिण भारतमा भएको हो ।