नेपाली फिल्म रिलिजका लागि दशैं सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा हुने भएकाले त्यसको फाइदा फिल्मको व्यापारमा पर्ने विश्वास निर्माताहरुमा छ । यसैले हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निकै ठूलो माथापच्ची हुने गरेको पाइन्छ । यस वर्ष दशैंको विदा हडप्न पनि रस्साकस्सी सुरु भइसकेको छ । ‘छक्का पञ्जा ५’देखि ‘बेहुली फ्रम मेघौली’सम्मले दशैं ‘रिजर्भ’ गरेर बसेका छन् ।
यस वर्षको दशैंमा अर्को ठूलो फिल्म पनि आउन सक्ने सम्भावना देखिएको छ । यतिबेला छायांकन भइरहेको अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’लाई दशैंमा ल्याउने प्रयास भइरहेको स्रोतले जानकारी गराएको छ । यसका लागि विराजले दशैंको कुन दिन फिल्म ल्याउने भन्ने विषयमा वितरकसँग छलफल गरिरहेका छन् । छायांकन सकिएकै दिन रिलिज घोषणा उनको तयारी छ ।
निर्माणको तयारीमा रहेको निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म ‘बलिदान’ यस वर्षको दशैंमा आउने सम्भावना नदेखिएपछि विराजले ‘१२ गाउँ’ हाल्न लागेका हुन् । तर, उनी कुनै नेपाली फिल्मसँग भिड्ने मनस्थितिमा नरहेको स्रोत बताउँछ । ‘छक्का पञ्जा ५’ले फूलपाती रोजिसकेकाले विराज अब घटस्थापना अथवा टीकाको दिनमध्ये एउटामा फिल्म रिलिज गर्ने सोचमा देखिएका छन् ।
तर, ‘बेहुली फ्रम मेघौली’ले ठूलो अन्योल सृजना गरेको छ । किनभने, यो फिल्मले दशैं मात्र भनेर बसेको छ । यकिन मिति तोकेको छैन । यसले गर्दा पनि विराज अन्योलमा छन् । र, दशैंमा नवीन चौहानको निर्देशनमा तयार भइरहेको फिल्म ‘ऊनको स्वीटर’ पनि आउने सम्भावना प्रवल रहेको चर्चा छ । यो हुँदा दशैंमा फिल्म रिलिजको व्यवस्थापन गर्न निर्माता/वितरकलाई ठूलै सकस पर्नेछ ।