तीज विदालाई लक्षित गर्दै आगामी भदौ २१ गते फिल्म थपिने क्रम जारी छ । यो मितिमा निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’ प्रदर्शनमा आउने तयारीमा छ भने अब अर्को फिल्म ‘देवी’ पनि थपिएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै तीजलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्ममा अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव पहारी मुख्य भूमिकामा छन् ।
सार्वजनिक दुईवटा पोस्टरमध्ये एउटामा शिल्पा शंकास्पद भावमा कसैलाई हेरिरहेकी छिन् भने हत्याका दृश्यहरु पनि समावेश छन् । फिल्ममा उनी पत्रकारको भूमिकामा छिन् । दोस्रो पोस्टरमा गौरव चित्रित छन् । उनी सिआइबीको भूमिकामा हुनसक्ने आँकलन गर्न सकिन्छ । सञ्जोग राईको निर्देशनमा बनेको फिल्मले महिलामाथि हुने यौनजन्य हिंसा विरुद्धको कथा उठाएको जनाइएको छ ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मसले सहकार्य गरेको फिल्ममा टीका पहारी, नाजिर हुसेन लगायतको पनि अभिनय छ । रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।