गत जेठ १० गतेबाट प्रदर्शनरत फिल्म ‘पूजार सार्की’ चौंथो हप्तामा प्रवेश गरिसकेको छ । तर, फिल्म हेर्ने दर्शकको चाप अझै पनि राम्रो देखिन्छ । विशेषगरी साँझतिरका शोजमा अकुपेन्सी सुखद् छ । फिल्मले आम दर्शकसँगै नेताहरुलाई पनि हलमा तानिरहेको छ । बिहीबार बिहान पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि फिल्म हेरेका छन् ।
फिल्म हेर्दा भावुक भएका उनले अब धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘जातीय विभेद आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड छ । शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ । यो मुद्दालाई फिल्मले गहिरो गरी उठाएको छ ।’
जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्म गुरुहरुले पनि साथ दिनुपर्ने उनको भनाई छ । ‘मलाई बाबुराम कामी भन्नुस् भनेर मैले संसदमै भनेको थिएँ । फिल्मको पूजारी पात्रले पनि आफ्नो नाम पूजार सार्की लेख्नुभएको छ । यस्तो समस्यामा राज्य र धर्मगुरुहरुले साथ दिनुपर्छ,’ उनले भने । ‘पूजार सार्की’ जस्तो फिल्मलाई राज्यले कर छुट दिएर प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।
त्यस्तै, ‘पूजार सार्की’ हेर्न श्रीमान् भट्टराईसँग पुगेकी पूर्वमन्त्री हिसिला यमीले नेपालका राजनीतिकर्मीले फिल्मको पात्र मेघराज (पल शाहले निर्वाह गरेको पात्र)ले लिएको जस्तै विचारको अडान लिन सुझाव दिइन् । उनले आफूहरु फिल्मको मेघराज पात्र जस्तै सधैँ क्रान्तिकारी रहेको भए पनि सोही पात्रजस्तै सधैँ अल्पमतमा परेको गुनासो व्यक्त गरिन् । उनले दोस्रो पटक यो फिल्म हेरेकी हुन् ।
फिल्मका लेखक विकास सुवेदीले राजनीतिकर्मीबाट प्राप्त प्रतिक्रियाले आफूलाई अस्कर जितेझैँ महसुस भएको बताए । ‘उहाँहरुले यो स्तरको प्रतिक्रिया दिनु मेरो लागि ठूलो सफलता हो । अस्कर पाएजस्तै महसुस भइरहेको छ,’ उनले खुसी व्यक्त गरे । दिनेश राउतको निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बूको मुख्य भूमिका छ ।